एमसीसी पास भए देशमा विकराल अवस्था सिर्जना हुन्छ : सीपी गजुरेल
काठमाडाैं, फागुन ६ : देशभक्त जन गणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले एमसीसी संसदबाट पास भए राष्ट्रिय युद्ध हुने बताएका छन्।शुक्रबार एमसीसीको विराेध...काठमाडाैं, फागुन ६ : देशभक्त जन गणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले एमसीसी संसदबाट पास भए राष्ट्रिय युद्ध हुने बताएका छन्।
शुक्रबार एमसीसीको विराेध प्रदर्शनमा सहभागी अध्यक्ष गुजरेलले एमसीसी पास भए देशमा विकराल अवस्था सिर्जना हुने बताएका हुन्।
साथै, उनले नेपाली काँग्रेस प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग मिलेर एमसीसी पास गराउने षड्यन्त्रमा लागिरहेको बताए।
उनले भने, ‘एमसीसी सम्झौता खारेज गरिएन भने त्यसको परिणाम के हुन्छ भन्ने कुरा शासक वर्गले सोचिसकेका छैनन्। उनीहरुले लाखौँ जनता सडकमा किन उत्रिए भन्ने कुरा सोच्न सकिरहेका छैनन्। यसको बिरुद्धमा जनताको जुन अभिमत छ त्यसलाई कुल्चिन खोजियो भने त्यसमा अब अर्को विकराल स्थिति पैदा हुनेवाला छ। देशमा अहिले दुई वटा सम्भावनाहरु छन्। एउटा डरलाग्दो अवस्थातिर देश जान सक्छ। सारा जनता एउटा पक्षमा शासक वर्गहरु त्यसको बिरुद्धमा गए भने त्यसले एउटा गृहयुद्धको रुप लिन पनि सक्छ। नेपालको राष्ट्रिय स्वाधीनतामाथि बाह्य हस्तक्षेप भयो भने राष्ट्रिय युद्ध हुनसक्छ।’
अध्यक्ष गजुरेलले अहिले देश गम्भीर मोडमा रहेको बताए। उनले प्रधानसेनापतिले पूर्वमा गएर देश विदेशीको हातमा सुम्पिए नेपाली सेना चुप लागेर नबस्ने बताएको भन्दै नेपालको राष्ट्रिय स्वाधीनतामाथि बाह्य हस्तक्षेप भयो भने राष्ट्रिय युद्ध हुनसक्ने बताए।











