Kathmandu Press

प्रजातन्त्र कसैले कसैलाई दिने दानअनुदान हाेइन : पूर्वराजा शाह

काठमाडौं, फागुन ६ : पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रियताबिनाको प्रजातन्त्र कसैले कसैलाई दिने दानअनुदान नभएको टिप्पणी गरेका छन्।७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा आज (शुक्रबार) एक...
प्रजातन्त्र कसैले कसैलाई दिने दानअनुदान हाेइन : पूर्वराजा शाह

काठमाडौं, फागुन ६ : पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रियताबिनाको प्रजातन्त्र कसैले कसैलाई दिने दानअनुदान नभएको टिप्पणी गरेका छन्।

७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा आज (शुक्रबार) एक शुभकामना सन्देश जारी गर्दै उनले प्रजातान्त्रिक व्यवस्था आफ्नै आचरण र अभ्यासबाट फल्दैफुल्दै जाने प्रणाली भएको उल्लेख गरेका छन्।

‘अरुले ओढाइदिएको आसमानमुनि छिरेर ओभानो बन्ने र धरातलका मान्यतालाई भुल्ने परिपाटी प्रजातन्त्र हुन सक्दैन,’ उनले भनेका छन्, ‘जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र होइन। आफ्नो देशको प्रकृति र परिवेशबाट पृथक भएर बाहिरी लोभ, प्रलोभनमा पर्नु पनि प्रजातन्त्र होइन।’ 

उनले राष्ट्रियताबिनाको प्रजातन्त्र कमजोर हुने पनि बताएका छन्। ‘जनताद्वारा जनहितका निम्ति प्रतिनिधित्वका आधारमा हुने शासकीय सुप्रबन्ध प्रजातान्त्रिक प्रणाली हो,’ शुभकामना सन्देशमा उनले लेखेका छन्, ‘राष्ट्रियताबिनाको प्रजातन्त्र आकाशमा महल बनाएको जस्तो हुन्छ, न त्यो कसैको सुरक्षाको कवच न त्यो कसैको न्यायको छाता बन्न सक्छ।’

राष्ट्र र राष्ट्रियतासहितको प्रजातन्त्रका लागि जनता र राजासधै एक रहिआएको र रहिरहने विश्वास उनले व्यक्त गरे। प्रजातन्त्रका नाममा पछिल्ला दशकमा भइरहेको अभ्यासले एकतालाई संकटापन्न अवस्थामा पुऱ्याएको र जनतालाई निराशाको दहमा डुबाउदै लगेको महसुस हुदै आएको उनले बताएका छन्।

‘यसो हुनुमा नेतृत्वको मात्र दोष हो कि प्रणाली पनि परिवर्तनयोग्य छ भन्ने बारेमा समीक्षा गर्न अब हामी सबै नेपाली तयार हुनुपर्दछ,’ उनले भनेका छन्।

प्रजातन्त्र निर्देशित र नियन्त्रित हुन नहुने धारणा पनि उनले राखेका छन्।  लोकतन्त्र स्वतःस्फुर्त एवं लोकसम्मत हुने र रहनुपर्नेमा उनले जोड दिएका छन्।। ‘अलमलिएको सरकार, भत्किएको संसद, बिग्रिएको न्यायालय, भाँडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्यूहले प्रजातन्त्रलाई कता पुयाइरहेको छ, विचारणीय प्रश्न छ,’ उनले भने।

‘आजको यो ऐतिहासिक दिनमा जनताले अपेक्षा गरेको, रोजेखोजेको सही शासन पद्धति र विधिविधानमा लाग्न सबैको ध्यान जाओस्, यही हाम्रो कामना छ,’
उनले लेखेका छन्।

प्रकाशित मिति: १७:४९ बजे, शुक्रबार, फागुन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्