एमसिसीमा सहमति नभए गठबन्धन अगाडि बढ्न सक्दैन : गगन थापा
काठमाडौं, फागुन ६ : कांग्रेसका महामन्त्री गगन थापाले एमसिसीमा सहमति नभए गठबन्धन अगाडि बढ्न नसक्ने बताएका छन्।आज (शुक्रबार) को संसद बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्ने...
काठमाडौं, फागुन ६ : कांग्रेसका महामन्त्री गगन थापाले एमसिसीमा सहमति नभए गठबन्धन अगाडि बढ्न नसक्ने बताएका छन्।
आज (शुक्रबार) को संसद बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्ने क्रममा उनले एमसिसीलाई लिएर कुरा मिले गठबन्धन चल्ने नत्र टुट्ने स्पष्ट पारे। ‘कुरा पनि नमिल्ने, गठबनधन पनि चलिराख्ने भन्ने हुँदैन,’ उनले भने।
उनले एमसिसीलाई चुनावपछि धकेल्ने प्रस्ताव स्वीकार्य नभएको उनको भनाइ थियो।
उनले एमसिसीका सन्दर्भमा संकल्प प्रस्ताव ल्याउनुपर्ने बताए। एमसिसीमा उल्लेख गरिएका बाहेक अन्य कुरा हुन थाल्यो भने तत्काल त्यसलाई नेपाल सरकारले खारेज गर्न पाउने व्यवस्था संकल्प प्रस्तावमा गर्नुपर्ने उनको भनाइ थियो। अब एमसिसीलाई अलमलमा राख्न नहुने उनले बताए।
प्रधानमन्त्री शेरबहादुर देउवाले भनेअनुसार एमसिसी पास भए पनि नभए पनि संसदमा टेबुल गरेर छलफल गर्नुपर्ने उनले बताए। एमसिसीबारे संसदमै छलफल गरेर दूधको दूध पानीको पानी गर्नुपर्ने र त्यसबारे नेपाली जनताले थाहा पाउनुपर्ने उनको भनाइ थियो।
उनले प्रमुख प्रतिपक्षी दल एमालेलाई संसद अवरोधको कारण छुट्टै भए पनि एमसिसीको विषयमा भने अवरोध नगर्न आग्रह पनि गरे। जसरी पनि एमसिसीकाे विषयमा अब टुंगोमा पुगिहाल्नुपर्नेमा उनले जोड दिए।











