दस मिनेटको प्रतिनिधि सभा बैठक : सभामुखको नरम आग्रह, एमालेको चर्को नाराबाजी
सभामुखको अनुरोधका बाबजुद पनि एमालेले संसदमा नाराबाजी जारी गरेपछि आदिवासी जनजाती आयोगको प्रतिवेदन २०७७/२०७८ पेस गर्न अनुमति दिएका थिए ।
काठमाडौं, फागुन ६ : प्रतिनिधि सभाको आजको बैठक दस मिनेट बसेर सकिएको छ। संसद सुचारु हुनेबित्तिकै एमालेका सांसदहरुले वेल घेरेर नाराबाजी गर्दै आजको प्रतिनिधि सभा बैठक सञ्चालनमा अवरोध गरेका थिए। सभामुख अग्निप्रसाद सापकोटाले एमालेका सांसदहरुलाई बैठकमा अवरोध नगर्न विशेष अनुरोध गरे पनि एमालेले नरोकेपछि बैठक अगाडि बढ्न नसकेको हो।
बैठकमा एमालेले सभामुखलाई संसदीय मर्यादा कायम गर्न माग गर्दै नाराबाजी गरेको थियो। सभामुख सापकोटाले राज्यसञ्चालनका लागि आवश्यक पर्ने विधेयकहरु सभामा विचाराधिन रहेको र त्यसले नीति निर्माण प्रकृया प्रभावित भएको बताउँदै अवरोध नगर्न एमाले सांसदहरुलाई अनुरोध गरेका हुन्।
कोभिड–१९ को महामारी लगायत जनजिविकाका विविध विषयमा संसदबाट छलफल गर्नुपर्ने भएका कारण अवरोध नगर्न सभामुखले विशेष अनुरोध गरेका हुन्। सभामुखको अनुरोधका बाबजुद पनि एमालेले संसदमा नाराबाजी जारी गरेपछि आदिवासी जनजाती आयोगको प्रतिवेदन २०७७/२०७८ पेस गर्न अनुमति दिएका थिए ।
प्रतिवेदन पेस भएपछि सभामुखले आजको प्रतिनिधि सभा बैठक स्थगित गरेका छन्। अर्को बैठक फागुन ८ गते आइतबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्नेगरी सभामुखले आजको बैठक स्थगित गरेका हुन्।
एमालेले १४ सांसदमाथि गरेको कारवाहीलाई सभामुखले मान्यता नदिएको भन्दै एमालेले भदौदेखि संसद अवरुद्ध गर्दै आएको थियो। माधवकुमार नेपालले एमाले फुटाएर नयाँ दल दर्ता गर्ने तयारी गरेपछि ओलीले नेपालसहित १४ जनालाई सांसदबाट हटाउने निर्णय गरेको सूचना संसद सचिवालयमा पेश गरेको थियो।
तर सभामुख सापकोटाले तत्काल सूचना टाँस नगरी केही दिन रोकेका थिए। माधव नेपालले नयाँ दल दर्ता गरी निर्वाचन आयोगबाट मान्यता पाएपछि सभामुखले कारवाहीको औचित्य नरहेको सूचना जारी गरेका थिए। सभामुखले एमाले फुटाउन सहयोग गरेको भन्दै सांसदहरुले संसद अवरुद्ध गर्दै आएका छन्।
संसद खुलाउने प्रयासस्वरुप प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका थिए। बालकोटमा भएको भेटवार्तामा प्रधानमन्त्रीले ओलीसमक्ष संसद खुलाउन आग्रह गरेपनि ओलीले अस्वीकार गरेका थिए।











