बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सुरु
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) प्रतिनिधि सभामा टेबुल गर्ने विषयमा सहमति जुटाउने अन्तिम प्रयासस्वरुप गठबन्धनको बैठक बसेको हो।काठमाडौं, फागुन ६ : सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले काठमाडौं प्रेसलाई जानकारी दिएका छन्।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) प्रतिनिधि सभामा टेबुल गर्ने विषयमा सहमति जुटाउने अन्तिम प्रयासस्वरुप गठबन्धनको बैठक बसेको हो।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु उपस्थित छन्।
गठबन्धन दलको बैठक अघि एमसिसीको विपक्षमा रहेका दलका नेताहरुले खुमलटार पुगेर प्रचण्डसँग छलफल गरेका थिए। माधव नेपाल, उपेन्द्र यादव लगायतका नेताहरु गठबन्धन बैठकका लागि साझा धारणा बनाउन खुमलटारमा बैठक बसेका थिए।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसीलाई संसदमा टेबुल गराउने सम्बन्धमा सहमति खोज्ने प्रयास गर्नेछन्। यसअघि पटकपटक भएका बैठकमा प्रधानमन्त्री देउवाले एमसिसी संसदमा पेस गर्नुपर्नेमा जोड दिँदै आएका थिए भने प्रचण्ड र माधव नेपाल लगायतका नेताहरु भने संसदमा एमाले अवरोध कायम भएका कारण तत्काल एमसिसी टेबुल गर्न नहुने अडानमा रहँदै आएका छन्।
संसद खुलाउने विषयमा छलफल गर्न बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा ओली निवास बालकोट पुगेका थिए। प्रधानमन्त्री बालकोट पुगेर ओलीसँग भेटवार्ता गरेपछि गठबन्धनका अन्य दलहरु केही सशंकित भएका छन्। सोही कारण शुक्रबार बिहानै प्रचण्डनिवास खुमलटारमा तीन दलका नेताहरुले छलफल गरेका हुन्।
प्रचण्डले यसअघि नै जबरजस्ति संसदमा एमसिसी टेबुल गर्न खोजिए सरकारबाट बाहिरिने चेतावनी दिइसकेका छन्। माधव नेपालले पनि एमाले अवरोध रहँदासम्म एमसिसीलाई संसदमा छलफलको विषय बनाउन नहुने अडान कायम राखेका छन्। प्रधानमन्त्री देउवा भने एमसिसीलाई कुनैपनि हालतमा संसदबाट अनुमोदन गराउनुपर्ने पक्षमा छन् ।
आजै दिउँसो प्रतिनिधि सभाको बैठक बस्ने भएकाले गठबन्धनको बैठकलाई चासोका साथ हेरिएको छ।











