Kathmandu Press

धितोपत्र बोर्डको अध्यक्षमा हमाल नियुक्त

काठमाडाैं, फागुन ५ : सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाललाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को आजको बैठकले हमाललाई बोर्डको अध्यक्षका रूपमा नियुक्त गरेको...
धितोपत्र बोर्डको अध्यक्षमा हमाल नियुक्त

काठमाडाैं, फागुन ५ : सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाललाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को आजको बैठकले हमाललाई बोर्डको अध्यक्षका रूपमा नियुक्त गरेको हो।

रासससँग कुुरा गर्दै हमालले नियुक्तिको बारेमा अनौपचारिकरूपमा जानकारी आएको र शुक्रबारसम्म नियुक्तिपत्रसमेत पाउने बताए।

उनले नेपालको शेयर बजारको विकास र विस्तारमा आफूले इमान्दार प्रयास गर्ने बताए। साना लगानीकर्ताको हित र बजारको विविधीकरण गर्न आफूले सक्दो प्रयास गर्ने उनले उल्लेख गरे।

नेपालको शेयर बजारलाई बलियो र सक्षम बनाउँदै अन्तर्राष्ट्रियस्तरको बनाउने आफ्नो सपना रहेको भन्दै उनले त्यसका लागि सहयोग गर्न सञ्चारमाध्यमलाई आग्रह गरे।

सामान्य झट्काले समेत प्रभाव पार्ने शेयर बजारलाई व्यवस्थित एवं मर्यादित बनाउने र प्राकृतिकरूपमा चल्ने बनाउन प्रयास गर्ने नवनियुक्त अध्यक्ष हमालले बताए। बजारको विविधीकरण नहुँदासम्म शेयर बजारले स्थायित्व पाउन नसक्ने भएकाले सो कार्यमा आफू दत्तचित्त भएर लाग्ने उनको भनाइ छ।

बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुङ्गाना एक सिमेन्ट कम्पनीको शेयर प्रकरणमा मुछिएपछि सरकारले उनलाई हटाएको थियो। पछिल्लो छ महिनादेखि बोर्डको अध्यक्ष खाली थियो। अध्यक्ष नियुक्त नहुँदा शेयर बजारसम्बन्धी विभिन्न विषयगत र नीतिगत काममा अवरोध भइरहेको थियो।

सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलको संयोजकत्वमा बोर्ड अध्यक्ष छनौट समिति गठन गरेको थियो। समितिले तीन जनाको नाम प्रस्ताव गरेको थियाे। त्यसमा डा गोपाल भट्ट, कृष्ण पोखरेल र हमालको नाम सिफारिस गरेको थियो।

डोटीको सिलगढीमा जन्मनुभएका हमालले एशियन इस्टिच्यूट अफ टेक्नोलोजी बैंककबाट एमबिए गरेका छन। झण्डै २९ वर्षदेखि सार्वजनिक तथा निजी क्षेत्रमा सेवा गरेका हमालले २० वर्ष त व्यवस्थापन क्षेत्रमा नै काम गरेका छन। सन् २००७ देखि सन् २०१० सम्म गैरआवासीय नेपाली सङ्घ थाइल्याण्डको अध्यक्ष बनेका हमाल थाई–नेपाल चेम्बर अफ कमर्स बैंककको उपाध्यक्षसमेत बनेका थिए।

प्रकाशित मिति: १८:२५ बजे, बिहीबार, फागुन ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्