राजदूत पोलिटसँग विकास साझेदारीबारे छलफल
काठमाडाैं, फागुन ५ : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल र नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटबीच विकास साझेदारीबारे छलफल भएको छ।उपाध्यक्ष पौडेलको...
काठमाडाैं, फागुन ५ : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल र नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटबीच विकास साझेदारीबारे छलफल भएको छ।
उपाध्यक्ष पौडेलको कार्यकक्षमा आज भएको छलफलमा नेपाल-संयुक्त अधिराज्य सम्बन्धका साथै विकास साझेदारी र भावी दिनमा हुने पारस्परिक सहयोगका विविध पक्षमा विचार-विमर्श भएको थियो।
दुई सय वर्षभन्दा पुरानो नेपाल र संयुक्त अधिराज्यबीचको सम्बन्ध, उक्त देशबाट नेपालको सामाजिक-आर्थिक विकासमा प्राप्त सहयोग, जारी विकास परियोजनालगायत आपसी हित र चासोका विषयमा छलफल भएको छलफलमा सहभागी आयोगका सचिव केवलप्रसाद भण्डारीले बताए।
कोभिड–१९ विरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन संयुक्त अधिराज्यले हालै २१ लाख मात्राभन्दा बढी एस्ट्राजेनेका खोप नेपाललाई उपलब्ध गराएको थियो।
नेपाल र संयुक्त अधिराज्यबीचको कूटनीतिक सम्बन्ध सबैभन्दा पुरानो हो। सन् १८१६ मा नेपाल र ब्रिटिस-भारतको तत्कालीन इष्ट इन्डिया कम्पनी सरकारबीच भएको सुगौली सन्धिसँगै दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो।











