बालुवाटारमा सत्तारुढ गठबन्धन दलको बैठक सुरु
आजको बैठकमा एमसिसीका बारेमा छलफल हुने छ । एमसिसीको विषयमा सत्तारुढ गठबन्धनमा सहमति र छलफल गरेर मात्रै संसदमा टेबुल गर्नुपर्ने प्रस्ताव प्रचण्डले राखेका थिए।
काठमाडौं, फागुन ५ : मन्त्रिपरिषद्को बैठक सकिएको छ । बिहीबार दिउँसो तीन बजे बसेको मन्त्रिपरिषद् बैठक केहीबेरअघि सकिएको हो।
मन्त्रिपरिषद् बैठक सकिएलगत्तै सत्तारुढ गठबन्धन दलको बैठक सुरु भएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन्।
आजको बैठकमा एमसिसीका बारेमा छलफल हुने छ । एमसिसीको विषयमा सत्तारुढ गठबन्धनमा सहमति र छलफल गरेर मात्रै संसदमा टेबुल गर्नुपर्ने प्रस्ताव प्रचण्डले राखेका थिए।
प्रचण्डको प्रस्तावलाई स्वीकार गर्दै एमसिसीका विषयमा गठबन्धनभित्र छलफल गर्न प्रधानमन्त्री देउवा सहमत भएका थिए। सोही सहमतिका कारण बुधबार बसेको प्रतिनिधि सभा बैठकमा एमसिसी टेबुल नगरिएको हो।
माओवादी केन्द्रले एमसिसीलाई संसोधन नगरी अगाडि बढाउन नहुने अडान कायम राखेको छ भने एकिकृत समाजवादी पनि एमसिसीको विपक्षमा देखिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक रुपमै एमसिसी देशको हितमा रहेको र यसलाई पारित गराउन सत्तापक्ष र प्रतिपक्ष दुबैले सहयोग गर्नुपर्ने बताउँदै आएका छन्।
कांग्रेस संसदीय दलको बैठकले पनि एमसिसी देशको हितमा रहेका कारण यसलाई संसदबाट अनुमोदन गर्नुपर्ने निष्कर्श निकालेको थियो। सोही अनुरुप गठबन्धन दल र प्रतिपक्ष दलले सहयोग गर्नुपर्ने समेत निष्कर्श निकालिएको थियो।
गठबन्धन दलका शीर्ष नेताहरुबीच एमसिसीको विषयमा साझा धारणा नबनेसम्म संसदमा एमसिसी टेबुल गर्न नहुने माओवादी र एकिकृत समाजवादीको अडान छ । दुई दलहरुले एमसिसीका विरुद्धमा सडक आन्दोलन समेत गरिसकेका छन्। एमसिसी जबरजस्ती अनुमोदन गराउन खोजिए सरकारबाट बाहिरिने माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई चेतावनी दिइसकेको छ।











