६ करोडमा तीनवटा दमकल खरिद गर्दै काठमाडौं महानगर
काठमाडौं, फागुन ५ : काठमाडौं महानगरपालिकाले ६ करोड रुपैयाँमा तीनवटा दमकल खरिद गर्ने भएको छ। महानगरसँग हाल चारवटा मात्र दमकल छन्। दमकल अभावका कारण...
काठमाडौं, फागुन ५ : काठमाडौं महानगरपालिकाले ६ करोड रुपैयाँमा तीनवटा दमकल खरिद गर्ने भएको छ।
महानगरसँग हाल चारवटा मात्र दमकल छन्। दमकल अभावका कारण आगलागी स्थलमा पुग्न समय लाग्ने भएपछि थप खरिद गर्न लागिएको महानगरको भनाइ छ।
दमकल इन्डोनेसियाबाट खरिद गर्न लागिएको महानगरका प्रवक्ता ईश्वरमान डंगोल जानकारी दिए।
उनका अनुसार एउटा दमकलको शुल्क २ करोड रुपैयाँ पर्ने पर्छ। हाल प्रयोगमा रहेका चार दमकल विभिन्न देशबाट सहयोगका रूपमा प्राप्त भएको उनले जानकारी दिए।
‘पार्किङको व्यवस्थापन गर्दै पहिलोपल्ट दमकल खरिद प्रक्रिया अगाडि बढाइएको हो। आगामी चैतभित्र दमकल काठमाडौं आइपुग्छ,’ प्रवक्ता डंगोलले भने।
महानगरसँग भएको दमकल टेकुमा एकै स्थानमा राखिन्छ। जसका कारण अन्य गतव्यमा जान समय लाग्छ । त्यसैले महानगरले दमकल खरिदमा जोड दिएको डंगोलको भनाइ छ।
थप तीन दमकल खरिदपछि महानगरको संख्या सात पुग्नेछ। अब ती दमकललाई महानगरभित्र छुट्टाछुट्टै स्थानमा राख्ने योजना महानगरको छ।
हनुमानढोका, रामहिटी, बालाजु, कोटेश्वर, बल्खु, कलंकीलगायत स्थानमा दमकल राख्ने तयारी भइरहेको प्रवक्ता डंगोलले बताए।
‘दमकल पार्किङका लागि दुई रोपनी क्षेत्रफल भए पुग्छ,’ प्रवक्ता डंगोलले भने, ‘बाक्लो बस्तीनजिकै सहज पर्नेगरी पार्किङ गर्न मिल्ने खाली ठाउँ खोज्दैछौं।’











