Kathmandu Press

‘एमसिसी नेपालको हितमा छ’

काठमाडाैं, फागुन ५ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सांसद इञ्जिनियर मोहन आचार्यले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) नेपालको हितमा...
‘एमसिसी नेपालको हितमा छ’

काठमाडाैं, फागुन ५ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सांसद इञ्जिनियर मोहन आचार्यले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) नेपालको हितमा रहेको बताएका छन्।

विगतमा कांग्रेस, एमाले, माओवादी नेतृत्वको सरकारले एमसिसीबाट सहयोग लिने प्रक्रियालाई निरन्तर अगाडि बढाएको उल्लेख गर्दै उनले सत्तामा हुँदा एउटा कुरा र विपक्षमा हँुदा अर्को कुरा गर्ने नेपाली राजनीतिको दोहोरो चरित्रले एसिसीलाई गिजोलेको बताए। 

आज यहाँ आयोजित एक कार्यक्रममा उनले भने, ‘नेपाली कांग्रेसले सत्तामा रहँदा पनि र प्रतिपक्षमा रहँदा पनि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) नेपालको हितमा रहेको कुरा गर्दै आएको छ।’

नेता आचार्यले नेपाललाई आवश्यकपर्ने आयोजना छनोटका लागि नेपाल सरकार र एमसिसीको संयुक्त लगानीमा सञ्चालन हुने ६३ करोड अमेरिकी डलरको पूर्वाधार आयोजना व्यवस्थापनका लागि मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) स्थापना भएको भन्दै सो विकास समिति नेपालको विकास समिति ऐन, २०१३ अनुसार स्थापित भएको बताए। 

एमसिसी परियोजनाअन्तर्गत सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, तनहुँ, पाल्पा, नवलपुर र परासी हुँदै जाने प्रसारण लाइन निर्माण गर्ने तथा दाङको धानखोलादेखि लमहीसम्मको सडकखण्ड स्तरोन्नति गरिने कार्यक्रम रहेको बताउँदै उनले यी परियोजनाको निर्माणबाट नेपालले विद्युत् निर्यात गर्न सक्छ र त्यसबाट रोजगारी सिर्जना एवम् राजस्व वृद्धि हुने बताए। 

नेता आचार्यले गरिबी निवारण र दिगो विकासमा यसले टेवा पु¥याउने उल्लेख गर्दै एमसिसी इन्डो–प्यासिफिक स्ट्राटेजीको अंग नभएको र सन् २०१७ मा भएको सम्झौताअनुसार ५० करोड डलर अनुदान लिँदा नेपालले कुनै पनि रक्षा वा सैन्य दायित्व बहन गर्नुनपर्ने बताए।

एमसिसी नेपालका पक्षमा हँुदाहँुदै पनि नेताको दोहोरो चरित्रका कारण कतै एमसिसीले अरुणको नियति भोग्नुपर्ने त होइन भनी उनले प्रश्न गरे।

अरुण जलविद्युत् आयोजनामा भएको गलत निर्णयले आम नेपालीले दशकौँसम्म अन्धकारमा बस्नुपरेको यथार्थलाई नभुल्नसमेत केन्द्रीय सदस्य आचार्यले जिम्मेवार राजनीतिक दलका नेताहरुलाई आग्रह गरे।

प्रकाशित मिति: १४:५६ बजे, बिहीबार, फागुन ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्