कांग्रेसले उल्लेखनीय काम गरे पनि प्रचारप्रसार हुन सकेको छैन : प्रधानमन्त्री देउवा
काठमाडाैं, फागुन ५ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले नेपालमा लोकतन्त्र स्थापनाका लागि थुप्रै ऐतिहासिक आन्दोलनको नेतृत्व गर्दै आएको भए...
काठमाडाैं, फागुन ५ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले नेपालमा लोकतन्त्र स्थापनाका लागि थुप्रै ऐतिहासिक आन्दोलनको नेतृत्व गर्दै आएको भए पनि त्यसलाई प्रचारप्रसार गरी जनतासम्म पुर्याउनुपर्नेमा जोड दिएका छन्।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’को आज (बिहीबार) प्रधानमन्त्री निवास बालुवाटारमा विमोचन गर्दै उनले लोकतन्त्र, न्याय, समानताका पक्षमा स्थापनाकालदेखि क्रियाशील कांग्रेसबारे गलत प्रचार गर्नेविरुद्ध निर्भयका साथ प्रतिवाद गर्नुपर्ने बताए।
प्रधानमन्त्री देउवाले नेपालमा पटक पटकका प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरी मुुलुकमा लोकतन्त्रको स्थापनादेखि देशको विकास र नागरिकको उत्थानमा नेपाली कांग्रेसले उल्लेखनीय कार्य गरेको भए पनि त्यसको उचित प्रचार प्रसार हुन नसकेको भन्दै कांग्रेसले देशको उत्थान र विकासमा गरेका कार्यहरुको प्रचार गर्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्री देउवाले स्थापनादेखि नै जनता र देशका पक्षमा काम गर्दै आएको कांग्रेसले यसपटक पनि अमेरिकी सहायता निकाय, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पनि नेपालको विकासका लागि भएकाले यसलाई अनुमोदन गर्नुपर्दछ भन्ने स्पष्ट अडानमा रहेको उल्लेख गरे।
‘एमसिसीका बारेमा नेपाली कांग्रेसको धारणा एउटै छ, यसलाई अनुमोदन गर्ने विषयमा पार्टीले निर्णय गरिसकेको छ,’ उनले भने। सभापति देउवाले नेपालमा प्रजातन्त्र स्थापनामा विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, सुवर्णशम्शेर राणा, कृष्णप्रसाद भट्टराई, सूर्यनाथ उपाध्यायको ठूलो योगदान रहेको भन्दै उहाँहरुलाई कांग्रेसले सदैव सम्मान गर्नुपर्ने बताए।
उनले नेता केसीले लेखेको उक्त पुस्तक नेपाली कांग्रेसको इतिहास थाहा पाउन चाहने जोकोहीलाई पनि मार्गदर्शक हुने बताउँदै सम्पूर्ण नागरिकलाई पुस्तक पढाउनुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले राष्ट्रिय हितका पक्षमा खुट्टा कमाउन नहुने बताए। ‘कांग्रेस बोली फेरिरहने पार्टी होइन, कांग्रेसले आफ्नो दृढ अडान कायम राख्छ,’ उनले भने। कांग्रेसभित्र आबद्ध व्यक्तिले कांग्रेस बुझ्नु जरुरी रहेको बताउँदै उक्त पुस्तक कांग्रेस बुझ्न चाहनेका लागि प्रेरणाको स्रोत बन्ने उनको भनाइ थियो ।
कांग्रेस नेता एवं पुस्तकका लेखक अर्जुननरसिंह केसीले झण्डै तीन दशक आफू कांग्रेस केन्द्रीय तहमा रहँदा विभिन्न पार्टीका कार्यक्रम र प्रशिक्षणका क्रममा उठेका प्रश्नलाई सम्बोधन गर्न आफूले उक्त पुस्तक तयार गरेको बताए।
स्थानीय तहमा रहेका कांग्रेसका हजारौँ कार्यकर्तालाई कांग्रेसको सकारात्मक पक्षका बारेमा चिनाउन उक्त पुस्तक तयार गरेको नेता केसीको भनाइ थियो।











