भारतको उत्तरप्रदेशमा इनारमा खसेर १३ जनाकाे मृत्यु
नयाँ दिल्ली, फागुन ५ : भारतको उत्तरप्रदेशमा इनारमा खसेर १३ जनाको मृत्यु भएको छ। बिबिसी हिन्दीका अनुसार बुधबार राति साढे ८ बजे उत्तरप्रदेशको कुशीनगर...
नयाँ दिल्ली, फागुन ५ : भारतको उत्तरप्रदेशमा इनारमा खसेर १३ जनाको मृत्यु भएको छ।
बिबिसी हिन्दीका अनुसार बुधबार राति साढे ८ बजे उत्तरप्रदेशको कुशीनगर जिल्लाको नौरंगियामा इनारमाथि राखिएको स्ल्याब फुट्दा त्यसमाथि बसिरहेका १३ जनाको खसेर मृत्यु भएको जनाएको छ। मृत्यु हुनेमा दुई महिला र ११ बालिका छन्।
विवाहको एक कार्यक्रम भेला भएका केही मानिस इनारको स्ल्याबमा बसिरहेका थिए। स्ल्याब एक्कासि फुट्दा केही मानिस इनारमा खसेको जनाइएको छ। केहीको उद्धार गरिए पनि १३ जनालाई भने बचाउन नसकिएको जनाइएको छ।
गोरखपुर रेन्जका एडिजी अखिल कुमारले यो घटनामा १३ जनाकाे मृत्यु भएकाे पुष्टि गरेका छन्। ‘बुधबार राति लगभग साढे ८ बजेको थियो। इनारको स्ल्याब फुट्दा त्यसमाथिका सबै मानिस इनारमा खसे। स्थानीयले तत्काल सकेजति मानिसलाई उद्धार गरी बाहिर निकालेका थिए । उनीहरूलाई तत्काल अस्पताल पठाइएको छ।’
प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले ‘प्रधानमन्त्री राष्ट्रिय राहत कोष’बाट प्रत्येक मृतकका परिवारलाई २ लाख र घाइतेहरूलाई ५०÷५० हजार दिने घोषणा गरेका छन्।
उनले ज्यान गुमाउनेका परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वस्थ लाभको कामना गरेका छन्।












