Kathmandu Press

दाेलखाका दश हजार बाख्रालाई पिपिआर खोप

दाेलखाका दश हजार बाख्रालाई पिपिआर खोप
Hardik ivf

दाेलखा, फागुन ४ : दोलखाको कालिन्चोक गाउँपालिकाका किसानले पालेका दस हजार बाख्रालाई पिपिआर रोगको खोप लगाइएको छ। कालिन्चोक गाउँपालिकाका किसानले विभिन्न क्षेत्रमा व्यावसायिक रूपमा पालन गरेका दश हजार ६०० बाख्रालाई पिपिआर रोगको खोप लगाइएको हो। पालिकामा पिपिआर रोगको उच्च जोखिम रहेको र भेडा तथा बाख्रालाई पिपिआर रोगबाट बचाउन गाउँपालिकाको सबै वडाको टोल–टोलमानै पुगेर पशु प्राविधिकहरूको सहयोगमा खोप लगाएको गाउँपालिकाले जनाएको छ।

हिउँदको समय सकिएपछि वर्षात्को समय सुरु हुने बेलामा बाख्रा तथा भेडामा यो रोग देखापर्ने र एकै पटकमा धेरै बाख्रा मर्ने हुँदा बाख्रामा रोग प्रतिरोधात्मक क्षमता बढाउन यो खोप लगाउने गरिन्छ। यो रोग लागेपछि बाख्रामा मुखमा घाउ आउने, ज्वरो आउने, पखला लाग्नेजस्ता लक्षण देखा पर्दछ। एउटा बाख्रामा पिपिआर रोग देखा परेपछि सजिलैसँग अन्य बाख्रामा पनि सर्न सक्ने र एकै पटकमा धेरै बाख्रा मर्नसक्ने सम्भावना हुने गर्छ।

कालिन्चोक गाउँपालिकामा गतवर्ष पिपिआर रोगका कारण १६० भन्दा बढी बाख्रा मरेका थिए। पालिकाको सुनखानीमा किसानले पालेका बाख्रा तथा भेडामा अज्ञात रोग देखा परी करिब १६० बाख्राहरू मरेपछि परीक्षण गर्दा पिपिआर देखा परेको थियो। पिपिआर रोगका कारण बाख्रा मर्न थालेपछि रोग लाग्न नदिन किसानलाई सचेत हुन पशुसेवा कार्यालय चरीकोटले आग्रह गरेको छ। कालिन्चोक गाउँपालिकाको विभिन्न क्षेत्रमा व्यावसायिक रूपमा नै बाख्रा तथा भेडापालन हुँदै आएको छ।

प्रकाशित मिति: २०:१३ बजे, बुधबार, फागुन ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्