अफगानिस्तानलाई तीन करोड २० लाख अमेरिकी डलर प्राप्त

काबुल, फागुन ४ : अफगानिस्तानले बुधबार मानवीय नगद सहयोगका लागि तीन करोड २० लाख अमेरिकी डलर बराबरको नगद् रकम प्राप्त गरेको अफगानिस्तानको केन्द्रीय बैंकले जनाएको छ।
‘द अफगानिस्तान बैंक’ (डीएबी) ले आफ्नो आधिकारिक ट्वीटरमार्फत् उक्त कुरा सार्वजनिक गरेको हो।
'अफगानिस्तानलाई मानवीय सहायताको प्रतिवद्धता अन्तर्गत पछिल्लो तीन करोड २० लाख अमेरिकी डलरको मानवीय सहायताको १५ औं चरणको सहयोग अफगानिस्तान आइपुगेको छ। उक्त रकम अफगानिस्तान इन्टरनेशनल बैंक (एआइबी) मा जम्मा गरिएको छ।'
अन्तरराष्ट्रिय समुदायको मानवीय सहयोगको मूल्यांकन गर्दै डीएबीले यस क्षेत्रमा अझ बढी सहयोगको माग गरेको छ।
अन्तर्राष्ट्रिय समुदायले गत हप्तान्तसम्ममा नौ करोड ६० लाख अमेरिकी डलरको मानवीय सहयोगको प्रतिवजद्धता गरेको छ भने यसलाई क्रमशः अफगानिस्तान पठाइनेछ। यो सहयोग गत सप्ताह अन्तदेखि नै मुलुकमा आइपुगेको बैंकले जनाएको छ।
उक्त बैंकले जारी गरेको तथ्याङ्कअनुसार युद्धग्रस्त एसियाली यस मुलुकले गत वर्षको अगस्ट महिनाको मध्यतिर तालिबानले अफगानिस्तान कब्जा गरेदेखि ३४ करोड ५० लाख अमेरिकी डलरभन्दा बढी नगद सहयोग प्राप्त गरेको थियो।
तालिबानको अफगानिस्तान कब्जापछि संयुक्त राज्य अमेरिकाले अफगानिस्तानको केन्द्रीय बैंकको नौ अरब अमेरिकी डलरभन्दा बढी सम्पत्ति रोक्का गर्ने घोषणा गरेको थियो।












