भारतमा हिजाब विवाद : के हो हिजाब ?
मुस्लिम समुदायका महिलाले हिजाब, नकाब र बुर्का लगाउने गर्छन् । यसको प्रयोग कहिलेदेखि कसरी भयो भन्ने बेग्लै खोज र विश्लेषणको विषय छ । यद्यपि यी पहिरन अहिले मुस्लिम धर्म र संस्कृतिसँग जोडिएर आएको छ ।
काठमाडौं, फागुन ४ : कर्नाटक राज्यको उडुपी जिल्लास्थित कुन्डापुर गर्भमेन्ट प्रि–युनिभर्सिटी कलेजमा केही समयअघि मुस्लिम छात्रालाई कलेजमा प्रवेश गर्न दिइएन, हिजाबका साथ ।
हिन्दू विद्यार्थीले पनि टावेल (गम्छा) पहिरिएर कलेज आउन थालेपछि यो विवाद चर्किएको थियो । हिन्दू विद्यार्थीको भनाइ छ कि कलेजमा सबैलाई पोसाकमा समान हुनुपर्छ, धर्मलाई बीचमा ल्याउनु हुँदैन । यो विवाद कर्नाटकमा अहिले चर्किरहेको छ, अन्य विद्यालय र कलेजमा पनि यस्तै माहोल सिर्जना भएको छ ।
कलेजको एउटा समिति छ, ‘कलेज डेभलपमेन्ट मोनिटरिङ कमिटी (सिडिएमसी), विद्यार्थीबीच विवाद बढ्दै गएपछि कलेजको यस समितिले हिजाबलाई प्रतिबन्ध गर्ने निर्णय गरेको थियो । मुस्लिम विद्यार्थीका अभिभावकसँग छलफल गरी कलेजले ‘छोरीहरुलाई हिजाब नलगाईकन कलेज पठाउन’ अनुरोध गरेको पनि थियो ।
मुस्लिम छात्राले यस विद्यालयमा पहिलेदेखि हिजाब पहिरिएरै कलेज आउने गर्थे । हिन्दू विद्यार्थीले विरोध गरे पनि उनीहरुले आफ्नो संस्कृति भनी हिजाब छाड्न चाहेनन् । यो विवाद अहिले कर्नाटकको हाई कोर्टमा पुगेको छ । मुस्लिम छात्राले हिजाब पहिरिनु आफ्नो मौलिक हक भएको भन्दै अदालतको ढोका ढकढकाएका थिए । अदालतबाट आदेश आउनुअघि यतिखेर कर्नाटक राज्यसँगै अन्यत्र पनि हिजाब विवाद चर्किएको छ ।
हिजाब के हो ?
मुस्लिम समुदायका महिलाले हिजाब, नकाब र बुर्का लगाउने गर्छन् । यसको प्रयोग कहिलेदेखि कसरी भयो भन्ने बेग्लै खोज र विश्लेषणको विषय छ । यद्यपि यी पहिरन अहिले मुस्लिम धर्म र संस्कृतिसँग जोडिएर आएको छ ।
हिजाब भनेको एक यस्तो हेडस्कार्फ (टाउको छोप्ने कपडा), जसले छाती र शिरलाई ढाक्छ । एक प्रकारले यो घुम्टो नै हो । जसलाई मुस्लिम महिलाले आफ्नो परिवारभन्दा बाहिरका अपरिचित पुरुषको उपस्थितिमा पहिरिने गर्थे ।

नकाब
नकाब पनि घुम्टो वा पछ्यौरी नै हो । जसले अनुहार छोप्छ तर आँखाको भाग छोप्दैन । आम रूपमा यसलाई प्रायः मुस्लिम महिलाले हिजाबको एक हिस्साका रूपमा प्रयोग गर्छन् ।
दुपट्टा : हिजाबलाई कहिलेकाहीँ दुपट्टा (शल)को शैलीमा अन्य पहिरनसँग मेल खाने गरी पहिरिने गरिन्छ, विशेषतः युवतीले पूरै गर्धन ढाक्ने गरी यसलाई पहिरिन्छन् ।
बुर्का
बुर्का र नकाबमा अन्य धर्मका मानिस झुक्किन्छन् । नकाबले अनुहार ढाक्छ तर आँखाको भाग खुला हुन्छ । जब कि बुर्काले पूरै शरीर (शिरदेखि पाउसम्म) छोपिन्छ ।
शायला
विशेषगरी इरानमा मुस्लिम महिलाले शिर छोप्न पछ्यौरी र शलको संयोजन गरेर शायला लगाउने गर्छन् ।
(एजेन्सीको सहयोगमा)











