एमिससीबारे संसदमा छलफल गर्नु जरूरी : भीम रावल
काठमाडौं, फागुन ४ : एमाले नेता भीम रावलले एमिससीलाई के गर्ने भन्ने विषयमा संसदबाटै टुंगो लगाउनुपर्नेमा जोड दिएका छन्।प्रतिनिधिसभा बैठकपछि आज (बुधबार) संसद भवन...
काठमाडौं, फागुन ४ : एमाले नेता भीम रावलले एमिससीलाई के गर्ने भन्ने विषयमा संसदबाटै टुंगो लगाउनुपर्नेमा जोड दिएका छन्।
प्रतिनिधिसभा बैठकपछि आज (बुधबार) संसद भवन नयाँबानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले एमसिसी नेपालको सार्वभौमसत्ता र स्वाधीनतासँग जोडिएको विषय भएकाले त्यसबारे संसदमै छलफल भएर छिनोफानो हुनुपर्ने बताएका हुन्।
उनले एमसिसीबारे जेजति प्रश्न उठेका छन्, तिनका बारेमा संसदमा विस्तृत रूपमा छलफल गर्नुपर्ने र त्यसका लागि संसद बैठक सुचारु गर्नुपर्ने बताए।
उनले संसद अवरोधका नाममा होहल्ला भइरहँदा एमसिसी पारित गर्ने षड्यन्त्र हुन सक्ने आशंकासमेत प्रकट गरे।
त्यस्तै माओवादी केन्द्रका नेता देव गुरुङले अहिले गठबन्धनको सरकार भएकाले गठबन्धनभित्रै साझा धारणा नवनेसम्म एमसीसीलाई अघि बढाउनुको कुनै औचित्य नहुने तर्क गरे। सरकारले लाने प्रस्तावमा गठबन्धन सरकारको सहमति हुनुपर्ने उनको भनाइ छ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले यथास्थीतिमा एमसिसी पारित गर्न नहुने धारणा कायमै रहेको बताए। उनले सदन अवरुद्ध रहिरहेका बेला सदनमा एमसिसीका बिषयमा छलफल हुन नसक्ने धारणा राखे।
उनले सदनलाई सूचारु गर्नुपर्ने र अन्य बिषयहरूलाई अघि बढाउनुपर्ने जिकिर गरे।











