एमसिसी फागुन ६ गते संसदमा टेबुल हुन्छ : कानुनमन्त्री बडू
काठमाडौं, फागुन ४ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रतिनिधि सभाको अर्को बैठकमा एमसिसी टेबुल हुने बताएका छन्। प्रतिनिधि सभाको बैठकबाट बाहिरिने...
काठमाडौं, फागुन ४ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रतिनिधि सभाको अर्को बैठकमा एमसिसी टेबुल हुने बताएका छन्। प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री बडुले सत्तारुढ गठबन्धन र प्रतिपक्षी दलहरुबीच सहमति जुटाएर फागुन ६ गते बस्ने बैठकमा टेबुल गर्ने बताएका हुन्।
एमसिसीका बारेमा दलहरुबीच थप छलफल आवश्यक भएका कारण आजको प्रतिनिधि सभा बैठकमा उक्त प्रस्ताव टेबुल नगरिएको उनले बताए। ‘दुईदिन छलफल गरेपछि संसदमा पेश हुन्छ,’ पत्रकारहरुसँग मन्त्री बडुले भने।
उनले सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुले केही समय मागेपछि आजको बैठकमा एमसिसी टेबुल नगरेको समेत बताएका छन्। सहमतिका लागि कांग्रेसले भोलि र पर्सी पर्खिने छ, त्यसपछि संसदमा टेबुल हुन्छ,’ उनले भने।
प्रतिनिधि सभाको बैठक बस्नुअघि प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएपछि एमसिसी टेबुल नगर्ने सहमति भएको थियो। दुई नेताबीच गठबन्धनका शीर्ष नेताहरुको छलफलपछि मात्रै एमसिसी टेबुल गर्ने सहमति भएको हो। त्यसका लागि भोलि तीन बजे गठबन्धनका शीर्ष नेताहरुको बैठक बोलाइएको छ।











