कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

काठमाडौं, फागुन ४ : कार्यव्यवस्था परामर्श समितिको बैठक संघीय संसद भवनको शंकर हलमा जारी छ।
सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बैठक बस्नुअघि संसद बैठकका कार्यसूचीबारे छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्। आज (बुधबार) १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ। बैठकले प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्ने जनाइएको छ।
बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले भने उपस्थित छैन। पार्टीले कारबाही गरेको १४ सांसदलाई नहटाएको भन्दै रुष्ट रहेको एमाले सभामुख सापकोटाले बोलाएको बैठकमा सहभागी नभएको हो।
सरकारले आजको संसद बैठकमा एमसीसी टेबल गर्ने तयारी गरिरहँदा सभामुख सापकोटाले सर्वसम्मति नभई एमसिसी टेबल गर्न नसक्ने बताएको जनाइएको छ।
सत्तारूढ गठबन्धनकै एक घटक माओवादी केन्द्रको संसदीय दलको बैठकले समेत एमसिसी जबरजस्ती टेबल गरिए सरकार छाड्ने निर्णय गरेको छ।
सो बैठकमा सत्तारूढ गठबन्धनकै अर्को दल जनता समाजवादी पार्टी (जसपा) पनि सहभागी नभएको बताइएको छ।











