बेनी नगरपालिकाद्वारा पशुपक्षी फार्मलाई अनुदान
म्याग्दी, फागुन ३ : म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०७८/७९ मा ६२ वटा पशुपक्षी फार्मलाई ५१ लााख रूपैयाँ अनुदान वितरण गरेको छ।विभिन्न...म्याग्दी, फागुन ३ : म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०७८/७९ मा ६२ वटा पशुपक्षी फार्मलाई ५१ लााख रूपैयाँ अनुदान वितरण गरेको छ।
विभिन्न पाँच वटा शीर्षकका कार्यक्रमबाट अनुदानका लागि छनोट भएका पशुपक्षी फार्मका सञ्चालकसँग सम्झौता सुरु भएको हो। नगरपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रदीप गौतमले सार्वजनिक सूचनामार्फत सङ्कलित आवेदकका फार्मको स्थलगत अध्ययन गरी कार्यविधि अनुसार मूल्याङ्कन गरेर अनुदानका लागि छनोट गरिएको बताए।
'प्रदेश र सङ्घीय सरकारबाट अनुदान नपाएका साना व्यवसायिक किसानलाई नगरपालिकाले समेटेको छ,' उनले भने, 'छनोट भएका फार्मका सञ्चालकसँग अनुदान सम्झौता थालिएको छ।' शाखाका प्रमुख पशु चिकित्सक डा जनाश्रित श्रेष्ठले ५० देखि ७० प्रतिशतसम्म अनुदान उपलब्ध गराइने जानकारी दिए। दूध, मासु र अण्डाको उत्पादन वृिद्ध, गुणस्तर सुधार गरी आत्मनिर्भर बनाउन बाख्रा, कुखुरा, गाईभैँसी र बङ्गुर फार्मलाई अनुदान उपलब्ध गराउन लागिएको उनले बताए।
उनका अनुसार साझेदारीमा गाईभैँसी तथा बाख्राको गोठ, खोर मर्मत सुधार निर्माण अनुदान कार्यक्रमका लागि २० फार्म छनोट भएका छन्। यो कार्यक्रमबाट कुल लागतको ५० प्रतिशत वा अधिकतम रु २५ हजारसम्म अनुदान पाउनेछन्। मागमा आधारित मेसिनरी औजार उपकरणका लागि बढीमा ५० देखि ७० प्रतिशत अर्थात नगद २५ हजार रूपैयाँसम्म अनुदान पाउन ८ वटा फार्म छनोट भएका छन्। १० वटा फार्मले पराल साइलेज तथा सुख्खा घाँस खरिद गरेर ल्याउनका लागि दुई लाख रूपैयाँ अनुदान पाउने भएका छन्।
चार लाख रूपैयाँ बजेट विनियोजन भएको भैँसी विकासका लागि प्याकेज कार्यक्रममा २१ किसान आवद्ध आधुनिक कृषि तथा पशुपक्षी स्रोत केन्द्र बेनपा– ६ छानिएको छ। दश लाख रूपैयाँ बजेट विनियोजन भएको बङ्गुरको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) कार्यक्रममा अर्जम पशुपालन तथा बहुउद्देश्यीय कृषक समूह, पूर्जा पशुपक्षी तथा कृषि फार्म र पौरखी कृषि उद्यम केन्द्र छनोट भएका छन्। यसैगरी सात लाख रूपैयाँ बजेट भएको बाख्रा पकेटको फलोअप कार्यक्रमका लागि भकिम्ली ग्रामीण कृषि सहकारी र डडुवाको हराभरा किसान समूह छनोट भएका छन्।
एक सय ५६ जनालाई जै र भेज प्रजातिको घाँसको बीउवितरण गरिसकेको नगरपालिकाले टियो सेन्ट्रि र सुडान जातको घाँसको बीउवितरणको तयारी गरेको छ। माछाको भुरा वितरण गर्ने कार्यक्रम पनि रहेको प्राविधिक गौतमले जानकारी दिए। उनका अनुसार नब्बे जना विपन्नलाई १० वटाका दरले स्थानीय जातको कुखुराका ४० दिने चल्ला वितरण गर्ने र पशु स्वास्थ्यशिविर सञ्चालन गरेर गाउँमै उपचार सेवा दिने योजना पनि बनाइएको छ। सर्शत अनुदान शीर्षकमा २१ लाख रूपैयाँ बजेट आएको पशु सेवामा यी कार्यक्रमका लागि बेनी नगरपालिकाले थप ३० लाख रूपैयाँ बिनियोजन गरेको छ।