महाअभियोगले न्याय क्षेत्रमा रहेको विकृतिको समाधान हुँदैन् : राप्रपा
काठमाडौं, फागुन ४ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सत्तारुढ दलका सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि संसदमा दर्ता गरेको महाअभियोगको प्रस्तावमा आफ्नो पार्टीको संलग्नता नरहने...
काठमाडौं, फागुन ४ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सत्तारुढ दलका सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि संसदमा दर्ता गरेको महाअभियोगको प्रस्तावमा आफ्नो पार्टीको संलग्नता नरहने जनाएको छ ।
मङ्गलवार राजधानीको धुम्बाराहीमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी पदाधिकारी बैठकले जबरामाथि महाअभियोग प्रस्ताव दर्ता भएको विषय अदालतमा राजनीतिक दबाब, प्रभाव, हस्तक्षेप र भागवण्डाको विगतको क्रियाकलापको दुष्परिणाम र त्यसकै निरन्तरताको रुपमा रहेको ठहर गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
महाअभियोगले न्याय क्षेत्रमा रहेको हालको विकृति विसंगतिको समाधान नभएको उसको ठहर छ । उसले भनेको छ, ‘यसको मुल दोष प्रणालीमा छ, प्रणालीमा आमूल सुधार नभएसम्म यस्तो अवस्था आइरहनेछ । राप्रपा महाअभियोगको खेलमा समावेश हुने छैन ।’
यस्तै बैठकले ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियानलाई पार्टीमा समाहित गर्ने निर्णय पनि गरेको छ ।











