एमसिसीका बारेमा छलफल गर्न माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक
काठमाडौं, फागुन ३ : सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ। भोलि (बुधबार) बिहान १० बजे बस्ने गरी संसदीय दलको...
काठमाडौं, फागुन ३ : सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ। भोलि (बुधबार) बिहान १० बजे बस्ने गरी संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिएका छन्।
बुधबार बस्ने प्रतिनिधि सभाको बैठक अघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। कार्यव्यवस्था परामर्श समितिको बैठकमा पार्टीको धारणा राख्नका लागि संसदीय दलको बैठक बोलाइएको गुरुङले जानकारी दिएका छन्।
बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसीका बारेमा पनि छलफल गरिने बताइएको छ। गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले मंगलबार नै संसदीय दलको बैठक बसि एमसिसीलाई संसदबाट पास गराउने निर्णय गरिसकेको छ।
यस्तो अवस्थामा गठबन्धन दलको धारणा के हुने भन्ने विषयमा छलफल गर्न पनि भोलि संसदीय दलको बैठक बोलाइएको हो। माअोवादी केन्द्रका अध्यक्ष पुृष्पकमल दाहाल प्रचण्डले परिमार्जन नगरि एमसिसी अगाडि बढाउन नहुने धारणा राख्दै आएका छन्। विभिन्न अन्तर्वार्ताहरुमा कांग्रेस र एमाले मिलेर एमसिसी अगाडि बढाउन खोजे गठबन्धन भंग हुने समेत बताउँदै आएका छन्।











