Kathmandu Press

नेपाल र अस्ट्रेलियाबीच बलियो सम्बन्ध छः मन्त्री बडू

काठमाडौंँ, फागुन ३ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेटवार्ता गरेका छन्। मन्त्रालयमा मङ्गलबार भएको भेटमा...
नेपाल र अस्ट्रेलियाबीच बलियो सम्बन्ध छः मन्त्री बडू

काठमाडौंँ, फागुन ३ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेटवार्ता गरेका छन्। 

मन्त्रालयमा मङ्गलबार भएको भेटमा उनीहरुबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बनाउनेलगायत विविध समसामयिक विषयमा छलफल भएको मन्त्री बडूको सचिवालयले जनाएको छ।

सो अवसरमा मन्त्री बडूले नेपालको विकासका लागि अस्ट्रेलियाले विविध क्षेत्रमा गरिरहेको सहयोग र कोभिड–१९ महामारी नियन्त्रण गर्न स्वास्थ्य क्षेत्रमा गरेको सहयोगका लागि धन्यवाद दिएका थिए। उनले न्यायमा नागरिकको सहज पहुँच, नेतृत्व विकास, स्वच्छ ऊर्जा, सङ्घीयताको सुदृढीकरण र विकासका विविध सवालमा अस्ट्रेलियाले हासिल गरेको अनुभव नेपालका लागिसमेत उपयोगी हुने बताए।
    
मन्त्री बडूले नेपाल र अस्ट्रेलियाबीच सरकार र सरकारबीच मात्र नभई सामाजिक रुपमा समेत बलियो सम्बन्ध रहेको उल्लेख गर्नुहुँदै नेपाली विद्यार्थीहरुको प्रमुख गन्तव्यका रुपमा रहेको अस्ट्रेलियामा पठनपाठन सहज हुने व्यवस्थाका लागि राजदूतको ध्यानाकर्षण गराएका थिए। 

राजदूत भोल्कले नेपाल पुरानो मित्रराष्ट्र भएका र आफूहरुले विगतदेखि नै स्वास्थ्य, शिक्षा, ऊर्जा, जलस्रोत, सामुदायिक वन र विकास पूर्वाधारदेखि समुदायस्तरमा महिलाहरुको नेतृत्व विकास, महिला हिंसा अन्त्यलगायत विभिन्न कार्यक्रम गरिरहेको र आगामी दिनमा पनि सहयोगको क्षेत्र बढाएर सहकार्य गर्न तयार रहेको बताए।

उनले न्यायक्षेत्रका साझा मुद्दा पहिचान गरी आपसी सहयोग अभिबृद्धि गर्न र अस्ट्रेलियामा नेपाली विद्यार्थीलाई अध्ययनका लागि थप सहज वातावरण बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

भेटमा परराष्ट्र मन्त्रालय र कानून मन्त्रालयका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो। 

प्रकाशित मिति: १८:१३ बजे, मंगलबार, फागुन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्