स्वास्थ्यमन्त्रीलाई बर्खास्त गर्न एमालेको माग, खोपबारे अफवाह फैलाएको आरोप
काठमाडौं, फागुन ३ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई बर्खास्त गर्न माग गरेको । एमाले सचिव तथा स्वास्थ्य विभाग प्रमुख योगेशकुमार...
काठमाडौं, फागुन ३ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई बर्खास्त गर्न माग गरेको । एमाले सचिव तथा स्वास्थ्य विभाग प्रमुख योगेशकुमार भट्टराईले विज्ञप्ति जारी गर्दै स्वास्थ्यमन्त्री खतिवडालाई बर्खास्त गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेका हुन्।
खतिवडाले सगरमाथा टेलिभिजनसँगको कुराकानीमा कोरोनाविरुद्धको पहिलो मात्रा खोप आफूले पाँच हजार तिरेर लगाएको अभिव्यक्ति दिएका थिए। उनको अभिव्यक्ति झुठो र एमालेविरुद्ध अफवाह फैलाउने योजनाबाट प्रेरित भएको भन्दै तत्काल राजीनामा माग गरिएको हो।
विज्ञप्तिमा खतिवडाले सिभिल अस्पतालमा निशुल्क खोप लगाएको अभिलेख सुरक्षित रहेको उल्लेख गरिएको छ। सामाजिक सञ्जालमार्फत भट्टराईले सिभिल अस्पतालमा मन्त्री खतिवडाले खोप लगाएको र हस्ताक्षरसमेत गरेको प्रमाण सार्वजनिक गरेका छन्। उक्त विवरणमा खतिवडाले कोभिशिल्ड खोप लगाएको उल्लेख छ।
‘स्वास्थ्यमन्त्री खतिवडाले पूर्ववर्ती सरकारलाई बद्नाम गर्नकै लागि आम जनसमुदायलाई गलत सूचना दिई कोभिडजस्तो संवेदनशील विषयमा अफवाह सिर्जना गर्नुभएको छ । लक्षित वर्गले निःशुल्क खोप प्राप्त गर्ने खोप ऐन, २०७२ र खोप नियमावली, २०७४ को सामान्य ख्यालसमेत नगरी स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीबाट यस्तो गैरजिम्मेवार अभिव्यक्ति आउनु निन्दनीय र आपत्तिजनक छ,’ विज्ञप्तिमा उल्लेख छ।

कोभिड–१९ सम्बन्धी विभिन्न समयमा सरकारले जारी गरेका निर्देशिकाहरुले खोपको कालोबजारी, बिक्री–वितरण र दुरुपयोग गर्नुलाई गम्भीर अपराधका रुपमा उल्लेख गरेको स्मरण गर्दै । मन्त्री खतिवडाले खोप ऐन र कोभिड निर्देशिकामा उल्लेख भएका प्रावधानविपरीत गम्भीर अपराध गर्नुका साथै गलत सूचना सम्पे्रषण गर्ने र अफवाह सिर्जना गर्ने काम गरेर कोरोना जस्तो संवेदनशील विषयमा अत्यन्तै गैरजिम्मेवार व्यवहार प्रदर्शन गरेको विज्ञप्तिमा उल्लेख छ।
‘यति झुट बोल्ने व्यक्ति नैतिक रुपमा मन्त्री पदमा बसिरहन अनुचित हुने भएकाले तत्काल राजीनामा गर्न हाम्रो पार्टी माग गर्दछ । साथै, आफ्ना मन्त्रीको यस्तो गैरजिम्मेवार अभिव्यक्ति र व्यवहारप्रति संवेदनशील हुँदै उहाँलाई मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउँछौँ,’ विज्ञप्तिमा भनिएको छ।













