नगर साझेदारी कार्यक्रम : दक्षिणकाली मन्दिर पूर्वाधार विकास कार्यक्रमको शिलान्यास

काठमाडौँ, फागुन ३ : दक्षिणकाली मन्दिर पूर्वाधार विकास कार्यक्रमको शिलान्यास भएको छ । नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरको आर्थिक सहयोगमा निर्माण हुने कलात्मक प्रवेश द्वारको मंगलबार (आज) महानगरका मेयर विद्यासुन्दर शाक्य र दक्षिणकालीका मेयर मोहन बस्नेतले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा काठमाडौँ महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ र दक्षिणकाली नगरकी उपमेयर बसन्ती तामाङ् (डंगोल) सहित पदाधिकारीहरुको पनि सहभागी थिए।
नगर—नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरबाट प्राप्त अनुदानबाट दक्षिण नगरपालिकाले यो परियोजना अगाडि बढाएको हो । दक्षिणकाली मन्दिरलाई व्यवस्थित गर्न ६ वटा क्षेत्रमा काम हुँदैछ । यस वर्ष सञ्चालन हुने परियोजनाको लागत एक करोड २४ लाख रुपैयाँ रहेको थियो । खुल्ला प्रतिस्पर्धाबाट ठेक्केदारले ८६ लाख ३३ हजार रुपैयाँमा निर्माण कबोल गरेको छ ।
महानगरका मेयर विद्यासुन्दर शाक्यले, जनताले उपभोग गर्ने वा जनताले लाभ पाउने कुरामा अस्वस्थ्य प्रतिस्पर्धा गर्न नहुने बताए ।
‘काठमाडौँ उपत्यकाका समस्याहरु एउटै छन् जसकारण पनि हामी उपत्यकाको एकीकृत विकास गर्न चाहन्छौँ । यसका लागि नगरहरुकाविचमा सहकार्य आवश्यक थियो । त्यो आवश्यकता पूरा गर्न काठमाडौँ महानगरले नेतृत्व गरिरहेको छ,’ मेयर शाक्यले भने, ‘हामीले काठमाडौँका सबै पालिकासँग सहकार्य गरेपछि भक्तपुरका २ वटा नगरसँग साझेदारी सहयोग ग¥यौँ । यसै गरेर एक प्रदेश एक भगिनी सहरको नीति लियौँ ।
त्यसअनुसार विभिन्न ५ वटा नगरसँग भगिनी सम्बन्ध स्थापना भएको छ । ती नगरलाई पनि पार्क निर्माण गर्न अनुदान सहयोग गरेका छौँ । पहिले लिएका नीति र कार्यक्रमलाई असर नहुने गरी थप सहयोग गर्न तयार छौँ ।’
त्यस क्रममा दक्षिणकाली नगरका मेयर मोहन बस्नेतले, काठमाडौँ महानगरले उदार भएर छिमेकी नगरको भौतिक समृद्धिमा सहयोग गरेको उल्लेख गरे । उनी भन्छन्, ‘काठमाडौँका जनतालाई आवश्यक पर्ने उत्पादन तथा सामग्री हाम्रो नगरमा छन् । हामी पनि महानगरका जनताको समस्या समाधानमा सघाउन चाहन्छौँ ।’
सबै नगरहरुको समृद्धिलाई साथमा लिएर काठमाडौँ महानगरपालिका अगाडि बढेको बताउँदै महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले सहरी विकासका सानातिना समस्या समाधान गर्ने हो भने ठूला र जटिल ठाउँमा पुग्नै नपर्ने धारणा राख्छिन् ।
उनी भन्छिन्, ‘महानगर एक्लै समृद्ध भएर हुँदैन । यो अनुभूति गरेर हामीले साझेदारी कार्यक्रमलाई बढाएका हौँ । महानगरमा पार्क बनाउने जग्गा छैन छिमेकी नगरमा जग्गा छ । अब महानगरका जनता छिमेकी नगरमा घुम्न जाने संस्कार बनाउन चाहन्छौँ ।’
दक्षिणकाली नगरकी उपमेयर बसन्ती तामाङ् (डंगोल) ले साझेदारी कार्यक्रमलाई नजिकबाट अनुभव गर्न पाएको धारणा राखिन् । ‘काठमाडौँ महानगरले साना नगरहरुलाई उदार मनले विकासमा अगाडि बढायो । हाम्रै सन्दर्भमा दक्षिणकाली मन्दिर पूर्वाधार विकासमा सहयोग ग¥यो । यसबाट देखाउन सकिने काम गर्न पाइएको छ’, दक्षिणकाली नगरकी उपमेयर बसन्ती तामाङ (डंगोल) भन्छिन् ।
नगर साझेदारी कार्यक्रमअन्तर्गत प्राचीन दक्षिणकाली क्षेत्रमा पहिलो चरणको काम सकिएर दोस्रो चरणको काम थालनी भएको छ ।











