Kathmandu Press

संसदबाट एमसिसी अनुमोदन गर्ने कांग्रेस संसदीय दलको निर्णय 

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा जारी संसदीय दलको बैठकले एमसिसीलाई संसदबाट अनुमोदन गर्ने निर्णय गरेको सांसद डिला संग्रौलाले काठमाडौं प्रेसलाई जानकारी दिएकी छन्। 
संसदबाट एमसिसी अनुमोदन गर्ने कांग्रेस संसदीय दलको निर्णय 

काठमाडौं, फागुन ३ : प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)लाई संसदबाट पास गर्ने निर्णय गरेको छ। 

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा जारी संसदीय दलको बैठकले एमसिसीलाई संसदबाट अनुमोदन गर्ने निर्णय गरेको सांसद डिला संग्रौलाले काठमाडौं प्रेसलाई जानकारी दिइन्। 

प्रतिनिधि सभा बैठकमा एमसिसी टेबुल भएपछि कांग्रेसले पक्षमा मतदान गर्ने उनले बताइन् । ‘एमसिसी संसदबाट अनुमोदन गराउन कांग्रेसका सबै सांसद प्रतिबद्ध हुनुहुन्छ,’ काठमाडौं प्रेससँगको कुराकानीमा सांसद संग्रौलाले भनिन्,‘बैठकमा सबै सांसदहरूले एमसिसी देशको हितमा भएका कारण यसलाई अनुमोदन गर्नुपर्ने धारणा राख्नुभएकाे छ।’

गठबन्धनमा रहेका अन्य दलहरुले पनि एमसिसीलाई सकारात्मक रुपमा लिँदै संसदबाट अनुमोदन गराउन सहयोग गर्नुपर्ने सांसद संग्रौलाले बताएकी छन् । ‘गठबन्धन सरकार रहेकै समयमा एमसिसी ल्याइएका कारण यसलाई अनुमोदन गर्नुपर्ने जिम्मेवारीबाट पछि हट्न उहाँहरुलाइ पनि नैतिकताले दिँदैन,’ उनले भनिन् । 

एमसिसी पास गर्ने विषयमा गठबन्धनभित्र पनि सहमतिको प्रयास भइरहेको उनले बताइन् । सहमति हुन नसकेको अवस्थामा गठबन्धनको औचित्य रहन नसक्ने धारणा उनको छ । यस सम्बन्धमा प्रधानमन्त्री तथा पार्टीका सभापति शेरबहादुर देउवाले लगातार छलफल गरिरहेको र तत्काल भोलिका लागि निर्धारित संसद बैठकमा एमसिसी टेबुल गर्ने विषयमा सभामुखलाई आग्रह गरिएको उनले बताइन्। 


 

प्रकाशित मिति: १४:१८ बजे, मंगलबार, फागुन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्