Kathmandu Press

एमसिसी राष्ट्रहितमा छ, अनुमोदन गर्नुपर्छ : महत

काठमाडौंं, फागुन ३ : नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रामशरण महतले एमसिसीलाई संसदबाट अनुमोदन गर्नुपर्ने बताएका छन्। मंगलबार संसदीय दलको बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुसँगको...
एमसिसी राष्ट्रहितमा छ, अनुमोदन गर्नुपर्छ : महत

काठमाडौंं, फागुन ३ : नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रामशरण महतले एमसिसीलाई संसदबाट अनुमोदन गर्नुपर्ने बताएका छन्। मंगलबार संसदीय दलको बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुसँगको कुराकानीमा डा महतले एमसिसी देशको हितमा भएका कारण पारित गर्नुपर्ने बताएका हुन्। 

‘एमसिसीका विरुद्ध भ्रम फैलाइएको छ, यो कुनै सैन्य रणनीतिअन्तर्गत छैन, ती सबै अफवाह मात्र हुन्, मैले यही कुरा राखेँ र अरू साथीहरुले पनि यसै विषयमा धारणा राखिरहनुभएको छ,’ पत्रकारहरुसँग महतले भने।  

उनले एमसिसी परियोजनालाई राष्ट्रहित विपरीत भनेर दुष्प्रचार गरिएको भन्दै यसका विरुद्धको भ्रम चिर्न आवश्यक रहेको पनि बताए। यो परियोजना राष्ट्रहितमा रहेकाले अनुमोदन गर्नुपर्ने पनि उनले बताए। 

साथै उनले बैठकमा एमसिसीविरुद्धका भ्रम चिर्न आफ्ना पार्टीका सांसदहरुलाई आग्रह गरेको पनि जानकारी गराए।

नेता डा महतले एमसिसी इन्डो प्यासेफिकअन्तर्गत नभई विशुद्ध विकास परियोजना भएको पनि बताए। उनले एमसिसीलाई अनुमोदन गर्न ढिलाइ गर्न नहुने बताउँदै प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समयअघि एमसिसी कार्यालयलाई पत्र लेखेर संसद्बाट अनुमोदन गर्न समय माग गरेकाले सोही अनुसार यही फागुन १६ गतेभित्र अनुमोदन गरिसक्नुपर्नेमा जोड दिए।
    
नेता महतले आफ्नो भनाइ राखेपछि बोल्ने सांसदहरुले पनि एसिसीको पक्षमा धारणा राखेको जानकारी पत्रकारहरलाई दिए। 

प्रकाशित मिति: १३:२२ बजे, मंगलबार, फागुन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्