अनसन र तालाबन्दीको दबावमा स्थायी नियुक्ति दिन सकिँदैन : त्रिवि
काठमाडौं, फागुन २ : त्रिभुवन विश्वविद्यालयले अनसन र तालाबन्दीको दबावमा आंशिक प्राध्यापकलाई करार र स्थायी नियुक्ति नदिने प्रष्ट पारेको छ । त्रिभुवन विश्वविद्यालयले सोमबार...
काठमाडौं, फागुन २ : त्रिभुवन विश्वविद्यालयले अनसन र तालाबन्दीको दबावमा आंशिक प्राध्यापकलाई करार र स्थायी नियुक्ति नदिने प्रष्ट पारेको छ ।
त्रिभुवन विश्वविद्यालयले सोमबार अपिल जारी गर्दै विभिन्न शिक्षक कर्मचारी तथा विद्यार्थी संगठनका नामबाट भइरहेका आन्दोलन, तालावन्दी र अनसनहरुले विश्वविद्यालयको पठनपाठन, प्रशासनिक काममा अवरोध उत्पन्न भएको भन्दै यस्ता प्रवृति अन्त्य गर्न सबैमा आह्वान गरेको हो ।
विश्वविद्यालयका पदाधिकारीलाई भौतिक, मानसिक र नैतिक दबाव दिई आंशिकलाई स्वतः करार र करारलाई स्वतः वा आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने परम्परा स्वीकार्न नसकिने प्रष्टाएको हो ।
‘खुला प्रतिस्पर्धामार्फत आफूलाई अब्बल सावित गर्न खोज्ने, अनुसन्धानमा विशेष रुची राख्ने, सिर्जननशील, लगनशील, अनुशासित शिक्षकहरुलाई त्रिविले सदैव स्वागत गर्दछ’ रजिस्ट्रार कार्यालयको सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।
आंशिक प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने त्रिविसभाको विगतको निर्णयको माग गर्दै आंशिक प्राध्यापकहरुले माघ ६ गते तालाबन्दी गरेका थिए ।आंशिक प्राध्यापकको मागका विषयमा उच्चस्तरीय छानबिन समिति गठन गरिएको र समस्या समाधानका लागि प्रधानमन्त्री र शिक्षामन्त्रीलाई जानकारी गराइसकेको त्रिविले जनाएको छ ।
त्रिविले बारम्बार त्रिविको केन्द्रीय कार्यालयमा हुने तालाबन्दीलाई सदाका लागि अन्त्य गर्न पनि त्रिविको अपिल छ ।











