संसद् सुरु गराउन पहल गर्ने सहमति

काठमाडौं, फागुन २ : सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा संसद् सुरु गराउन पहल गर्ने सहमति भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई समेत सहमतिमा ल्याएर संसद् सुरु गराउन सरकार र सत्तारुढ दलहरूले गम्भीर पहल गर्ने महत्त्वपूर्ण सहमति गरिएको सभामुख सापकोटाले जानकारी दिएका हुन् ।
उनले संसदमा विचाराधीन नागरिकतासँग सम्बन्धित विधेयक, हवाई उडानसँग सम्बन्धित विधेयक लगायतका जनसरोकारका विधेयकहरू पारित हुने वातावरण बनाउन आफूले प्रधानमन्त्री शेरबहादुर देउवा र दलका नेताहरूको ध्यानाकर्षण गराएको पनि जनाए ।
सभामुख सापकोटाले एमालेसँग संवाद गरेर संसद् सुरु गराउन बैठकले महत्त्वपूर्ण आधार प्रदान गरेको विश्वाससमेत व्यक्त गरे ।
बैठकमा सत्तारुढ गठबन्धनले पनि संसदमा विचाराधीन ४२ वटा विधेयक रहेको उल्लेख गर्दै त्यसलाई अघि बढाउनसमेत नदिएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेको आलोचना गरेका थिए भने सभामुख सापकोटाले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विधेयकहरू अघि बढाउन सरकार र सत्तारुढ गठबन्धनले प्रमुख प्रतिपक्ष दल एमालेसँग निरन्तर छलफल गर्नुपर्नेमा जोड दिएका थिए ।











