नेपाल पाकिस्तान सिधा हवाई सेवा सञ्चालन गर्न चेम्बरको आग्रह
काठमाडौं, फागुन २ : नेपाल चेम्बर अफ कमर्सले नेपाल पाकिस्तान सिधा हवाई सेवा सञ्चालनका लागि राजदुत शेद हैदर शाह समक्ष आग्रह गरेको छ...काठमाडौं, फागुन २ : नेपाल चेम्बर अफ कमर्सले नेपाल पाकिस्तान सिधा हवाई सेवा सञ्चालनका लागि राजदुत शेद हैदर शाह समक्ष आग्रह गरेको छ ।
दुई मुलुकबीचको व्यापार सहजिकरणका लागि काठमाडौं कराँचीबीच सिधा हवाई सम्पर्क आवश्यक रहेकोमा चेम्बरले जोड दिएको हो ।
नेपालका लागि पाकिस्तानी राजदुत साहसंग चेम्बर भवन जमलमा सोमबार भएको भेटवार्तामा अध्यक्ष राजेन्द्र मल्लले दुई मुलुकबीचको व्यापार वृद्धि, पर्यटन आदान प्रदान एवं अन्य आर्थिक गतिविधी विस्तारका लागि तत्काल हवाई सेवा सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए ।
हवाई सेवा सञ्चालन गर्न दुई मुलुकबीच सरकारी तबरबाटै पहल गर्न र नीजि क्षेत्रमा पनि सहकार्य गराउन अध्यक्ष मल्लले राजदुत शाहसंग आग्रह गरे । नेपाल चेम्बर अफ कमर्स र पाकिस्तान चेम्बर अफ कमर्सबीच थुप्रै क्षेत्रमा व्यापारिक सहकार्यको सम्भावना रहेकाले उच्चस्तरीय भेटवार्ताका लागि आफुहरु तयार रहेको अध्यक्ष मल्लले बताए ।
नेपालका लागि पाकिस्तानी राजदुत शाहाले हवाई सेवा सञ्चालनका लागि सरकारी तवरबाटै पहल हुनुपर्ने बताए । नेपाल र पाकिस्तानबीच दुवै मुलुकलाई फाईदा हुनेगरि आर्थिक सम्भावनाका क्षेत्रहरुको पहिचान गर्नुपर्नेमा जोड दिए ।











