Kathmandu Press

ख्वप अस्पतालमा अन्तरंग सेवा पनि सुरु

भक्तपुर, फागुन २ : भक्तपुरको ब्रह्मयणीस्थित ख्वप अस्पताल कोभिड युनिटको भवनबाट ख्वप अस्पतालले आइतबारबाट अन्तरंग सेवा सुरु गरेको छ। भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पतालको भवन निर्माणाधीन...
ख्वप अस्पतालमा अन्तरंग सेवा पनि सुरु

भक्तपुर, फागुन २ : भक्तपुरको ब्रह्मयणीस्थित ख्वप अस्पताल कोभिड युनिटको भवनबाट ख्वप अस्पतालले आइतबारबाट अन्तरंग सेवा सुरु गरेको छ। 

भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पतालको भवन निर्माणाधीन अवस्थामा रहेको हुँदा कोभिड महामारीको समयमा ख्वप अस्पताल कोभिड युनिटका रूपमा सञ्चालित उक्त भवनबाट ख्वप अस्पतालले अन्तरंग सेवा सुरु भएको हो ।

आइतबार अस्पतालको निरिक्षणको क्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले भक्तपुर नगरपालिकाले जस्तै अन्य स्थानीय तहहरूले सरकारको मुख ताकेर नबसी आफ्नै स्रोतबाट अस्पताल सञ्चालन गरी जनतालाई सेवा प्रदान गर्न सके केन्द्रीय र प्रदेश अस्पतालमा भइरहेको बिरामीको चाप घट्ने बताए ।

‘अस्पतालका चिकित्सक र अन्य जनशक्तिले शिष्ट व्यवहारले बिरामीको छिटो उपचार हुनुको साथै जनताको गुनासो समेत कम हुने,’ उनले भने ।

उनले ख्वप अस्पताल सञ्चालनमा आएपछि सरकारी तथा निजी अस्पतालसँग तुलना गरी कमीकमजोरीलाई लिएर आलोचनासमेत हुन सक्ने हुँदा त्यसप्रति सचेत रहन अस्पताल व्यवस्थापक र प्रशासकलाई व्यवस्थापनमा ध्यान दिन सुझाए ।

यस्तै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरवासीको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई एक शैयाको बनाउने तयारी गरिरहेको र ख्वप अस्पतालले दैनिक ५ सयदेखि ६ सयजनाभन्दा बढी बिरामीलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको जानकारी दिए । 

ख्वप अस्पतालले ५ शैयाको आइसियु र २५ शैयाको एचडियुसहित आइतबारबाट बिरामी भर्ना समेत सुरु गरेको अस्पतालले जनाएको छ। हाल ख्वप अस्पतालबाट इन्टरनल मेडिसिन, हाडजोर्नी, स्त्री रोग, बाल रोग, दन्त रोग, नाक–कान–घाँटी, छाला लगायतमा विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ।

ख्वप अस्पतालले आर्थिक वर्ष २०७७÷७८ मा ४० जिल्लाका एक लाख १२ हजार २२ जनालाई स्वास्थ्य उपचार सेवा प्रदान गरिसकेको तथ्यांक छ भने २०७८/७९ को ६ महिनामा ८३ हजार २३५ जनालाई उपचार सेवा प्रदान गरेको छ।

यस्तै, ख्वप अस्पतालले जनताको स्वास्थ्य उपचारमा सहज पहुँच पु¥याउने उद्देश्य अनुसार दैनिक ११ घण्टा ओपिडी सेवा प्रदान गर्दै आएकोमा सार्वजनिक बिदाका साथै शनिबारका दिनसमेत सो सेवा प्रदान गर्दै आएको अस्पतालले जनाएको छ । 

साथै हरेक वडामा स्वास्थ केन्द्रहरू निर्माण गरी नगरवासीहरूलाई छिटोछरितो स्वास्थ्य सेवा प्रदान गर्ने नीति अनुसार भक्तपुर नगरपालिका–२ व्यासी, वडा ५ भगवतीस्थान र वडा १ सल्लाघारीमा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गरी सेवा प्रदान गर्दै आएकोमा वडा १० मा पनि आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण भइरहेको अस्पतालले जनाएको छ ।
 

प्रकाशित मिति: १४:२५ बजे, सोमबार, फागुन २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्