एमाले संसदीय दलको बैठक जारी, जबराविरूद्धकाे महाभियाेगबारे छलफल
काठमाडौं, फागुन २ : एमाले संसदीय दलको बैठक संसद भवन नयाँ बानेश्वरमा जारी छ।सत्ता गठबन्धनका ९८ सांसदको हस्ताक्षरसहित आइतबार संसदमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध...
काठमाडौं, फागुन २ : एमाले संसदीय दलको बैठक संसद भवन नयाँ बानेश्वरमा जारी छ।
सत्ता गठबन्धनका ९८ सांसदको हस्ताक्षरसहित आइतबार संसदमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्तापछि राजनीतिक र न्यायिक क्षेत्रमा तरंग उत्पन्न भएको छ।
सोही घटनापछि बदलिएको परिस्थितिमा आगामी संसद् बैठकमा एमाले सांसदहरुको भूमिका कस्तो हुने भन्ने विषयमा छलफल गरी आवश्यक रणनीति तय गर्न बैठक डाकिएको हो।
महाअभियोग प्रस्ताव दर्ता भएलगत्तै जबरा प्रधानन्यायाधीश पदबाट निलम्बतमा परेका छन् भने कायममुकायमको जिम्मेवारी दीपककुमार कार्कीले पाएका छन्।
महाअभियोग दर्ता भएकै दिन आइतबार साँझ एमालेको सचिवालय बैठकले बसेको छ। सो बैठकले स्थानीय तहको आगामी निर्वाचन पछाडि धकेल्ने प्रयासका रूपमा षड्यन्त्रमूलक ढंगले महाअभियोग आएको निष्कर्ष निकाल्दै त्यसलाई असफल पार्ने निर्णय गरिसकेको छ।
एमालेले जबराविरुद्धको महाअभियोग प्रस्तावको ‘काउन्टर’ दिने तयारी गरेको गाइँगुइँ पनि राजनीतिक वृत्तमा चलिरहेको छ।
एमाले अध्यक्ष ओली नेतृत्वले पूर्ववर्ती सरकारको सिफरिमा विघटन गरिएको संसद पुनःस्थापनाको फैसला गर्नेमा जबरासहित चार न्यायाधीशहरू थिए। उनीहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई हुन्।
ती चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी एमालेले थालेको र संसदीय दलको जारी बैठकले सो विषयमा निर्णय लिन सक्ने स्रोतको भनाइ छ।
बुधबार संसद बैठक पनि बस्दै छ। उक्त बैठकमा जबरामाथि लगाइएको महाभियोग र एमसिसीबारे छलफल हुने आकलन छ। सो बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि आजै निर्णय हुने बताइएको छ।
एमालेले आफूले कारबाही गरेका १४ सांसदको पद खारेजीको माग राख्दै लामो समयदेखि संसद बैठकमा अवरोध सिर्जना गर्दै आइरहेको छ।
सभामुख अग्नि सापकोटाले पूर्वाग्रही ढंगले भूमिका निर्वाह गर्दा ती सांसदहरूको पद अहिलेसम्म कायम रहेको बुझाइ एमालेको छ। संसदको अवरोध हटाउन कि १४ सांसदलाई कारबाही गर्नुपर्ने कि मार्ग प्रशस्त गर्नुपर्ने दुई विकल्प मात्र सभामुखसँग रहेको एमालेले भन्दै आएकाे छ।











