नेपालसहित १४ सांसदविरूद्ध दायर रिट पेसीबाट हटाइयाे
काठमाडौं, फागुन १ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरी उक्त पार्टी खारेज गर्न र लुम्बिनी प्रदेशका दुईजना सांसदलाई...
काठमाडौं, फागुन १ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरी उक्त पार्टी खारेज गर्न र लुम्बिनी प्रदेशका दुईजना सांसदलाई सभामुखले गैरकानुनी रूपमा जोगाएको भन्दै एमालेले दायर गरेको रिट पेसीबाट हटाइएको छ।
लुम्बिनी प्रदेशसभा सचिवालय समेतबाट सर्वोच्च अदालतमा प्रतिरक्षामा खटिएका लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता कृष्ण सुवेदी कोरोनाको लक्षण देखिएपछि आइसोलेसनमा रहेको कारण दर्साउँदै दिएको निवेदन आधारमा आज (आइतबार) को पेसी हटाइएको हो।
सुवेदीले आज (आइतबार) का लागि पेसीमा चढेकाे सो रिट हटाउन माग गर्दै निवेदन दिएका थिए। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा रिट पेसी तोकिएको थियो।
आदेशमा भनिएको छ, ‘यसमा प्रत्यर्थीमध्येको लुम्बिनी प्रदेश सभा सचिवालय समेतबाट प्रतिरक्षामा खटिएको अवस्थामा रूघा खोकी र ज्वरो समेतले ग्रस्त भई कोभिड पोजेटिभजस्ता लक्षणहरू देखिई आइसोलेसनमा रहेको कारण आजको पेसी हटाई पाऊँ भनी प्रदेश ५ का मुख्य न्यायाधिवक्ता कृष्ण सुवेदीको निवेदन पर्न आएको हुँदा आजको पेसीबाट हटाइएको छ।’











