Kathmandu Press

एमालेले संसदीय दलको बैठक भाेलि बस्ने, आज साँझ सचिवालयमा छलफल

काठमाडौं, फागुन १ : प्रमुख प्रतिपक्षी दल एमालेले संसदीय दलको बैठक बोलाएको छ।भोलि (सोमबार) बिहान ११ बजेका लागि बोलाइएको बैठक संसद भवन बानेश्वरको...
एमालेले संसदीय दलको बैठक भाेलि बस्ने, आज साँझ सचिवालयमा छलफल

काठमाडौं, फागुन १ : प्रमुख प्रतिपक्षी दल एमालेले संसदीय दलको बैठक बोलाएको छ।

भोलि (सोमबार) बिहान ११ बजेका लागि बोलाइएको बैठक संसद भवन बानेश्वरको ल्होत्से हलमा बस्ने एमाले संसदीय दलले जनाएको छ।

सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता गराएपछि आफ्नो भावी रणनीति तय गर्न र आवश्यक निर्णय लिन एमालेले संसदीय दलको बैठक बोलाएको जनाइएको छ।

संसद बैठकमा एमालेले आफूले कारबाही गरेका माधवकुमार नेपाललगायत १४ सांसदको पद खारेजीको माग राखेर निरन्तर अवरोध सिर्जना गर्दै आएको छ। सत्ता पक्षबाट एसिसी सम्झौताको प्रस्ताव संसदमा टेबुल गर्ने तयारी गरिरहेको र प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोगसमेत लागेको परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने तयारीमा एमाले लागेको छ।

संसद बैठक यही फागुन ४ गते बस्दैछ।

यसैबीच एमालेले आज (आइतबार) साँझ ६ बजेका लागि सचिवालय बैठक पनि बोलाएको छ। 

एमालेले प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव अनुचित रहेको प्रतिक्रिया दिइसकेकाे छ। एमाले अध्यक्ष केपी ओलीले महाअभियोग अघि सारेर सत्तापक्षले राज्यका अंगहरूलाई नियन्त्रण गर्न खोजेको आरोप लगाएका छन् ।

प्रकाशित मिति: १३:२७ बजे, आइतबार, फागुन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्