माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दामा सुनुवाई हुँदै
काठमाडौं, फागुन १ : माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा एमालेले दर्ता गराएको रिटको सुनुवाई आज हुने भएको छ। एमालेले कारवाही गरेपनि...
काठमाडौं, फागुन १ : माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा एमालेले दर्ता गराएको रिटको सुनुवाई आज हुने भएको छ।
एमालेले कारवाही गरेपनि सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त नगरेको भन्दै एमाले सर्वोच्च पुगेको थियो। उक्त रिट आइतबार पेसी चढेको हो। पटकपटक पेसी चढेर हेर्न नभ्याइनेमा परेको सो मद्दा आज न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासमा परेको छ।
रिटमा सांसदहरू माधव नेपाल, मुकुन्द न्यौपाने, भवानी खापुङ, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, मेटमणी चौधरी, निरा जैरु, सरला यादव, पुष्पा कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी र कलिला खातुनलाई सांसदबाट पदमुक्त गर्न माग गरिएको छ।
एमालेले साउन २५ को केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार माधव नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र भदौ १ गते संसद सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो।
तर, सभामुख अग्निप्रसाद सापकोटाले आफू अस्वस्थ भएको बताउँदै एमालेले सचिवालयलाई पठाएको सूचना टाँस गर्न ढिलाई गरेका थिए। माधव नेपाल समूहले ले नयाँ पार्टी दर्ता गरि निर्वाचन आयोगबाट दर्ता प्रमाणपत्र पाइसकेपछि सभामुख सापकोटाले एमालेबाट गरिएको कारवाहीको औचित्य नभएको भन्दै सूचना जारी गरेका थिएं।











