Kathmandu Press

पलेँटीमा गीतकारका गीति-गुञ्जनसँगै तीन वटा पुस्तक विमोचन हुने

काठमाडाैं, असोज १ : यो महिनाको ‘पलेँटी शृङ्खला’ विगतका पलेँटीभन्दा भिन्दै प्रकृतिको हुने भएको छ।

अंग्रेजी महिनाको अन्त....

पलेँटीमा गीतकारका गीति-गुञ्जनसँगै तीन वटा पुस्तक विमोचन हुने

काठमाडाैं, असोज १ : यो महिनाको ‘पलेँटी शृङ्खला’ विगतका पलेँटीभन्दा भिन्दै प्रकृतिको हुने भएको छ।

अंग्रेजी महिनाको अन्तिम साता आयोजना हुँदै आएको  सांगीतिक कार्यक्रममा यो पटक तीन जना साहित्यकारहरू सहभागी हुने भएका छन्। आफ्ना नयाँ प्रकाशित पुस्तकका साथ पलेँटीमा प्रस्तुत हुने तीनै जना साहित्यकारहरू गीति साहित्यमा पनि स्थापित व्यक्तित्व हुन्। त्यसैले यसपालीको पलेँटी संगीत र साहित्यको संगम हुने जानकारी आयोजक संस्था नेपालयले जनाएको छ। 

यही असोज १०, ११, र १२ (सेप्टेम्बर २७, २८ र २९ तारिख) गते आयोजना हुने सो सांगीतिक कार्यक्रमकै क्रममा साहित्यकारहरू तीर्थ श्रेष्ठको कविता सँग्रह ‘धर्सैधर्साको चक्रव्यूह’, कालीप्रसाद रिजालको संस्मरण ‘काँडामा हाँसेको जिन्दगी’ र मञ्जुलको गीति यात्रा संस्मरण ‘सम्झनाका पाइलाहरू’ सार्वजनिक हुनेछन्। शुक्रबार, शनिबार र आइतबारको यी पलेँटीमा क्रमशः तीर्थ श्रेष्ठ, कालीप्रसाद रिजाल र मञ्जुलले रचना गरेका संगीतवद्ध गीतहरू सुनाइने छन्। जसका निम्ति पलेँटीका गायक तथा वाद्यवादकहरू अभ्यासमा जुटिसकेका छन्।

Hardik ivf

सांगीतिक पलेँटी विगत केही महिनादेखि तीन दिन आयोजना हुँदै आएको छ। यसपाली पहिलो दिन, असोज १० गते (२७ तारिख)  कवि तीर्थ श्रेष्ठ प्रस्तुत हुनेछन्। कार्यक्रममा तीर्थ श्रेष्ठले सृजना गरेका गीत, कविता बारे चर्चा र उनीसँगको अन्तरसंवाद पनि प्रस्तुत हुनेछ। कवि तीर्थले रचना गरेका गीत गायक फत्तेमान लगायत नयाँ पुस्ताका गायक, गायिकाले स्वर दिएका छन्। उनको चर्चित कविता ‘हिउँमा लेखिएका नाम’ पनि संगीतवद्ध भएको छ।

उनका धेरै जसो गीतमा संगीतकार आभासले धुन भरेका छन्। तिनै गीतको सांगीतिक माहोलमा कवि श्रेष्ठको नयाँ कृति ‘धर्सैधर्साको चक्रव्यूह’ सार्वजनिक हुनेछ। नवप्रकाशित कृतिमाथि निबन्धकार रोशन शेरचनको संक्षिप्त मन्तव्य रहने छ। सो अवसरमा कवि श्रेष्ठले नयाँ सँग्रहमा संकलित केही र केही पूराना कवितासमेत वाचन गर्नेछन्।

‘जीवन यात्राको यो क्षणमा आएर आफ्नो नयाँ कृति प्रकाशित गर्न पाउनु उसै आनन्दको विषय हो; त्यसमा पनि सांगीतिक उत्थामना क्रियाशील पलेँटीको मञ्चबाट यसलाई सार्वजनिक गर्ने अवसर जुर्नु अर्को उच्च आनन्दको विषय हो,' आउँदै गरेको कृति र पलेँटीबारे कवि तथा गीतकार तीर्थ श्रेष्ठको प्रतिक्रिया थियो।

त्यसैगरी, असोज ११ गते (२८ तारिख) शनिबारको पलेँटीमा कवि तथा गीतकार कालीप्रसाद रिजाल प्रस्तुत हुनेछन्। साहित्यकार रिजालको नयाँ कृति ‘काँडामा हाँसेको जिन्दगी’ पनि पलेँटीको सांगीतिक माहोलबीच सार्वजनिक गरिने भएको छ। सो अवसरमा रिजालसँग पनि उनको गीति लेखनको यात्रा र नवप्रकाशित पुस्तकका सन्दर्भसँग सम्बन्धित रहेर अन्तर संवाद गरिने कार्यक्रम रहेको छ। रिजालको नयाँ कृति र उनको गीति लेखनमा केन्द्रीत रहेर समालोचक रजनी ढकालले मन्तव्य व्यक्त गर्नेछिन्।

नारायण गोपालले गाएका गीत 'केही मिठो बात गर', 'यसैगरी बिताइ दिन्छु', 'आँखा छोपी नरोऊ भनी', गायक फत्तेमानले स्वर दिएको 'बनै खायो डढेलोले' जस्ता रिजालका अनगिन्ती गीतहरू नेपाली गीति साहित्यका कोसेढुंगा सावित भएका छन्। रिजालको पलेँटीमा यी चर्चित गीतका साथै केही नयाँ गीत प्रस्तुत हुनेछन्। कार्यक्रममा पुस्तकको शीर्षकसँग निकटता राख्ने गीत ‘झर्‍यो जिन्दगी फुट्यो जिन्दगी’ (काँडामा हाँसेको मीठो जिन्दगी’) पनि प्रस्तुत हुनेछ।

सार्वजनिक हुन लागेको पुस्तक र पलेँटीकाबारे लेखक तथा गीतकार कालीप्रसाद रिजाल निकै उत्साह व्यक्त गर्छन्- ‘आफ्नो नयाँ कृति  सांगीतिक कार्यक्रमकाबीच सार्वजनिक हुन लागेकोमा खुशी छु। म संगीत र साहित्य दुवैको आनुरागी हुँ। तर यो पुस्तक भने एउटा सामान्य मान्छेको जीवन यात्राको विवरण हो। यसमा एउटा सामान्य व्यक्तिसँग जोडिएर आएको समय पनि समेटिएको छ। यो पुस्तक मेरो समय र म उभिएको कोणबाट देखिएको सामान्य दृष्टि हो। पाठकले यसलाई त्यहीँ रुपमा लिनेछन् भन्ने आशा छ।'

घटस्थापनाको साँझ हुने यो महिनाको अन्तिम पलेँटी शृङ्खलामा अर्का कवि तथा गीतकार मञ्जुल प्रस्तुत हुनेछन्। नेपालय पब्लिकेसन्सले ‘नेपालय क्यासिक’ शीर्षक अन्तरगत मञ्जुलको गीति यात्रा संस्मरण ‘सम्झनाका पाइलाहरू’लाई पुनः प्रकाशित गरेको छ। यो पुस्तकमा मञ्जुल र रामेशको चर्चित सांगीतिक जोडीले पूर्वी नेपालको सांगीतिक भ्रमण गर्दाको यात्रा विवरण समेटिएको छ।

‘सम्झनाका पाइलाहरू’ सार्वजनिक हुने मञ्जुलको पलेँटीमा उनको त्यही विगतको सांगीतिक झलक समेटिने छ। कवि मञ्जुलको पुनःप्रकाशित पुस्तक र व्यक्तित्वमाथि उनीसँग विगतमा नजिकबाट संगत गरेका राजनैतिक व्यक्तित्व रघु पन्तले मन्तव्य दिनेछन्।

मञ्जुलका गीतहरू ‘मेरो सानो मुरलीमा’, ‘भोकै मर्ने महाकविका पेटका सारङ्गी’, ‘कोशी छेऊ उभेको सिमल’ जस्ता पृथक शैलीका रचना मनिन्छन्। उनका अधिकांश गीतमा रामेशले धुन भरेका छन्। पलेँटीको सांगीतिक टिमसँग मिलेर मञ्जुल आफ्ना विगतका तिनै सांगीतिक रचनाहरू गुनगुनाउने छन् र विगतका क्षणलाई सम्झने छन्।

‘पलेँटी मैले आनन्द लिने सांगीतिक थलो हो। त्यसकै मञ्चमा बसेर हाम्रो सांगीतिक यात्रा विवरण समेटिएको ‘सम्झनाका पाइलाहरू’ सार्वजनिक हुँदैछ। म एकदमै खुशी छु,' मञ्जुलले पुनः प्रकाशित पुस्तक र पलेँटीबारे भने।  यो महिनाको पलेँटी सदाझै कालिकास्थानस्थित नेपालयको साबिककै कार्यक्रमस्थल ‘आर.शाला’मा प्रस्तुत हुनेछ।

प्रकाशित मिति: १६:४० बजे, बुधबार, असोज १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्