माओवादी घटकलाई एकताबद्ध हुन अध्यक्ष प्रचण्डको आह्वान
काठमाडौं, फागुन १ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समूहमा छरिएर रहेका माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह...
काठमाडौं, फागुन १ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समूहमा छरिएर रहेका माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गरेका छन्।
२७औं माओवादी जनयुद्ध दिवसका अवसरमा शुभकामना दिँदै उनले देशको अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै एकताबद्ध हुन ती घटकलाई आह्वान गरेका हुन्।
अध्यक्ष दाहालले परिवर्तनका लागि लडेका शक्तिहरू एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने विश्वास व्यक्त गरेका छन्। सन्देशमा भनिएको छ, 'परिवर्नतकारी क्रान्तिकारी शक्तिबीचको एकता भएमात्रै जनयुद्ध दिवस मनाउनुको अर्थ, महत्व र औचित्य रहन्छ। नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्वको रहेको छ।'
उनले नेपाली राजनीतिक र सामाजिक परिवर्तनको इतिहासमा पनि यो मुक्तियुद्धका रूपमा स्थापित भइसकेको जनाएका छन्। जनयुद्धको जगमा सम्पन्न भएको २०६२/६३ को संयुक्त जनआन्दोलनपश्चात मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रूपमा संस्थागत भएको उनको भनाइ छ।
संविधानसभामार्फत नयाँ संविधान निर्माण हुनु र संविधानले मुलुकलाई सङ्घीय गणतन्त्रात्मक शासन प्रणालीका साथै धर्मनिरपेक्ष, समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनु पनि जनयुद्धकै योगदान भएको उनले बताएका छन्।
देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरू जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन र परिवर्तनको नेतृत्व नेता र पार्टीलाई बदनाम गर्न अहिले पनि लागिरहेको जनाउँदै सन्देशमा अध्यक्ष दाहालले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता र शुभेच्छुक–शुभचिन्तक आम जनसमुदायलाई एकताबद्ध भएर सबै खाले प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नका लागि अगाडि बढ्न अपील गरेका छन्।
उनले जनयुद्धमा सहभागी भएका र माओवादी पहिचान बनेका विभाजित माओवादी नेता तथा कार्यकर्ता तथा शान्ति र संविधानको बाटोमा सहकार्य गर्दै आएका सम्पूर्ण शक्तिहरूमा जनयुद्धका उपलब्धि एवं सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र शान्ति सम्झौताको मर्म र भावनाअनुसार अगाडि बढ्न सन्देशमा विशेष अनुरोध गरेका छन्।
दाहालले परिवर्तनका निम्ति जनयुद्धमा सहभागी भएर प्राणको आहुति दिने शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। उनले जनयुद्धका क्रममा बेपत्ता पारिएका योद्धा, घाइते योद्धा र उनीहरूका परिवारजनप्रति सन्देशमा सम्मान प्रकट गरेका छन्।











