बालुवाटार बैठक सकियो, एमसीसीमा राष्ट्रिय सहमति खोज्नेबारे छलफल
बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का सम्बन्धमा सत्तारुढ गठबन्धन दलहरुको साझा धारणा बनाउने विषयमा छलफल भएको छ ।.jpg)
काठमाडौं, माघ २९ : बालुवाटारमा सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताको बैठक सकिएको छ। मध्याह्न १२ बजे बसेको बैठक केहीबेर अघि सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले काठमाडौं प्रेसलाई जानकारी दिएका छन्।
बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का सम्बन्धमा सत्तारुढ गठबन्धन दलहरुको साझा धारणा बनाउने विषयमा छलफल भएको छ ।
राष्ट्रको हितसँग जोडिएको विषय रहेका कारण राष्ट्रिय सहमतिका आधारमा एमसीसीलाई अगाडि बढाउने/नबढाउनेबारे तीन शीर्ष नेताहरूले राख्दै आएकाे धारणाबारे छलफल भएको हो।
एमसीसी अगाडि बढाउनका लागि अमेरिकाले नेपाललाई फेब्रुअरी अन्तिमसम्मको समय दिएको छ। एमसीसी बहस उत्कर्षमा पुगिरहेको समयमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले भेटवार्ता र छलफललाई निरन्तरता दिएका हुन्।
गठबन्धन दलभित्र प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीलाई अगाडि बढाउने पक्षमा छन् भने प्रचण्ड र माधव नेपाल भने परिमार्जन गरेर मात्र अगाडि बढाउनुपर्ने पक्षमा छन्।
शनिबार मध्याह्न प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड र माधव नेपाल बालुवाटार पुगेका थिए। बैठक आजै साँझ पुनः बस्नेगरी सकिएको बताइएको छ।











