Kathmandu Press

कुरुक्षेत्र

ओल्लोघर पल्लोघर साथीभाइले केही कमाएर ल्याउँछन् । दुईचार दिन घरमा झिलिमिली देखाउँछन् । त्यही देखासेखी गर्नाले यस्तो भा’को हो । परदेश एक युद्धभूमि हो । कुरुक्षेत्र हो । यहाँ हामीले यति दुःख गर्दै छौँ ।
कुरुक्षेत्र

चाल मारेर बिस्तारै म त्यहाँ पुगेँ । तैपनि, कतै अलमल नगरी म फटाफट हिँड्छु । दायाँबायाँ मान्छेको आवतजावतको क्रम बढ्दै थियो । जहाँको स्थानीय समय ठ्याक्कै मध्येरातिको । थाकेको शरीरलाई केही विश्राम र भोजन गरेर फर्किएको थिएँ । मानौँ कि त्यो ठाउँ कुरूक्षेत्र थियो । जहाँ एकजना लक्का जवान युवा हात बाँधेर उभिरहेको थियो । केही न केही सोच्दै थियो । होला, आफ्नो विगत र वर्तमानलाई तुलना गर्र्दै िथयो । सुन्दर भविष्यको भयङ्कर कल्पना गर्दै थियो । आफ्नो शिर घरी झुकाउँथ्यो । घरी ठाडो पाथ्र्याे । ठ्याक्कै मभन्दा विपरीत दिशातिर फर्किएको । लाग्थ्यो कि उसको आङ घरिघरी सिरिङसिरिङ हुन्थ्यो । परबाट हेर्दै ऊ नजिकै पुगेँ । 

‘तपाई नि आइपुग्नुभयो ?’, मलिन आवाजले सम्बोधन गर्दै भन्यो । 

मैले मुन्टो हल्लाएर भने, ‘हजुर’ । 

‘तपाई केही कल्पना गर्दै हुनुहुन्थ्यो । केही साँेच्दै हुनुहुन्थ्यो । त्यो सोचाइ भङ्ग गरिदिएँ । मलाई माफ गर्नुहोस् ।’, मैले भनँे । 

‘त्यस्तो होइन । यो एउटा युद्ध मैदान हो, जहाँ मलाई एक्लोपन मन पर्दैन । तर यो बाध्यता हो ।’, उसको भनाइ सुनेँ । यस्तो अभिव्यक्तिले म त्यहाँ पुग्दा ऊ खुसी भएको आभास लिएँ । 

दुबै भाइ अलिपरको एउटा कुनामा बस्यौँ । जहाँ निकै सुनसान छाएको थियो । बिजुली बत्तीको प्रकाश पुग्दो थियो । झलमल्ल थियो । उज्यालो कमै भएको जस्तो लाग्थ्यो । तर हामीलाई उज्यालो चाहिएको थिएन । हामी दुवै जनाको मनै निन्याउरो र अँधेरो थियो । भौतिक झिलिमिलीको अभाव थिएन । 

कुरैकुराका पोकाहरू खोलिन सुरु भयो । म सुन्दै गएँ, ‘आखिर मानव जीवन न हो । एकदिन मृत्यु निश्चित छ । यो कुरा थाहा हुँदाहुँदै पनि हामी कतिसम्म मरिहत्ते गर्छौ । म त अब बढीमा अठार महिना बस्छु । अनि घर फर्किन्छु ।’ 

यस्तो कुरा सुन्दा लाग्थ्यो, कुनै महाभारतको कहानीमा, रामायणमा, गीतामा लेखिएको कथा जस्तो । कौरवहरूले जाल गरेर पाण्डवहरूसँग बाजी जिते । बाजी जित्नाले पाण्डवलाई वनवास पठाए जस्तो । रामले पिता भक्ति भएर चौध वर्ष वनवास लागे जस्तो । भत्रलाई र सुत्रलाई ‘वनवास’ शब्द जति सजिलो छ । यो गाह्रो वा अप्ठ्यारो चिज हो भोग्न । यसमा पनि कम्तिमा पाण्डवहरू त पाँच भाइ भएर लागे । रामले आफ्नी पत्नी सीताजीलाई समेत लिएर गए । यो कहानीमा ती युवा पनि एक्लो थिए । म पनि एक्लो थिएँ । 

हुन पनि हो, उसको कुरा अरू सुनौँसुनौँ लाग्ने । मैले ध्यान एकाग्र भएर सुनेको उसले बुझ्यो । अरू कुराकानी थप गर्न अघि बढ्यो, ‘दाइ ! अब यसरी कतिञ्जेल परदेशी भएर बस्ने ? हामीले यसो दुईचार पैसा होला कि भत्रे आशाले हाम्रो श्रम बेचेर बसेका छौँ । आफ्नो ठाउँ परिवेश, घरपरिवारबाट टाढा भएर बसेका छौँ । कतिकति महत्त्वपूर्ण कुराहरू छुटाएर बसेका छौँ । मेरी सानी एघार महिनाकी छोरी छन् । मुना जस्ती श्रीमती । डाँडापारिको जून जस्ता जन्मदिने आमाबुवा । म घरमा भएको भए छोरी फिस्स दुइटा दाँत देखाएर हाँस्थिन् । बाबा भनेर बोल्न खोज्थिन् होला । मेरो परिवार रमाउँथे होला । म उनीहरूसँग रमाउनेथिएँ होला । म नेपालमै रहँदा पनि दुईचार पैसा कमाउथेँ नै । यो गाउँघरमा विदेश जाने लर्को लागेर हो । जव चाडबाड आउँछ ।

ओल्लोघर पल्लोघर साथीभाइले केही कमाएर ल्याउँछन् । दुईचार दिन घरमा झिलिमिली देखाउँछन् । त्यही देखासेखी गर्नाले यस्तो भा’को हो । परदेश एक युद्धभूमि हो । कुरुक्षेत्र हो । यहाँ हामीले यति दुःख गर्दै छौँ । यो दुःख हाम्रो घरपरिवार कसैलाई थाहा हुन्न । श्रीमतीलाई नि थाहा हुन्न । आमाबालाई नि थाहा हुन्न । कारण, देखेकै छैनन् । थाहा होस् पनि कसरी ? मात्र कति कमाउँदैछ भत्रे कुरा सबैलाई थाहा हुन्छ । किनकि सबैले त्यही नै सोध्छन् पनि ।’

ती युवाको कुराले म पनि गहिरो सोचाइमा परेँ । उसले जेजति भन्दै गयो, सोभन्दा धेरै मेरो दिमागमा खेल्यो । कुरा ठिक हो पनि । दुईदिने जिन्दगीमा कति छट्पटिएर परदेशमा वनवास बस्नु ! कति दिन परदेसिएर बस्नु ! आधा उमेर बितिगयो । आधा उमेर त घरपरिवारसँग बिताए हुने । थोरै भए पुगिसरी भनेभैmँ चित्त बुझाउन नसक्नुको परिणाम हो यो । कति दुःख गरेर पैसा कमाऊँला । तर, पैसाले हाम्रो मृत्युलाई रोक्न सक्दैन । भनिन्छ, ‘पैसाले संसारमा जन्मदिने आमा र कर्मदिने बुवा पाइँदैन, अरू सबै चिज पाइन्छ ।’ 

मैले सहमति जनाएँ र भनेँ, ‘पैसाले जन्मदिने आमाबुवा पाइँदैन ।’, यो धु्रवसत्य कुरा हो । त्यतिमात्र नभएर पैसाले समय, बलबैँस, जवानी, र खुसी पनि कित्र सकिँदैन । पैसाले मृत्यु रोक्न सकिँदैन । करोडौँ रूपैयाँ तिरेर खुसी कित्र सकिँदैन । अर्को कुरा, दुनियाँमा समय बलवान् हुन्छ । समयको उचित व्यवस्थापन गरेर जिउनुपर्छ । समयलाई चिनेर बाँच्नु नै मानव जीवनको सर्वोत्तम सफलताको रूपमा लिन सकिन्छ । 

कुराकानी हुँदै थियो, परबाट हामीतिर हुलकाहुल मान्छे आए । हाम्रो गहिरो विचार आदानप्रदान थाँती रह्यो । गम्भिरताबाट एकछिन भताभुङ्ग भएभैmँ भयौँ । निरन्तरता दिऊँला भन्दै उठ्यौँ । कामतिर लाग्यौँ । यस्तो क्रम पछिपछि पनि पुनः निरन्तर रूपमा चलिरह्यो ।
    
कुनै अर्को एकदिन, सोही समयमा म सोही ठाउँ पुगेँ । कर्मको खेतीमा तल्लिन साथीहरू बसिरहेका थिए । साथीहरू शुक्र, अभिषेक, देवेन्द्र, विनोद, केरला परदेशका जिस्नु लगायत अरू केही थिए । नजिकै पुगेर सबैसँग हात मिलाएँ । उहाँहरूले, ‘आइपुग्नुभयो ?’ भन्दै हातमा हात मिलाउनुभयो । म सोही युवाको नजिकैे कुर्सीमा टुसुक्क बसेँ । 

उनले हाँस्दै भने, ‘भीमजी ! लेखक हुनुहुन्छ । कलाकार हुनुहुन्छ । गीतकार हुनुहुन्छ । उहाँद्वारा रचित गीतहरू युट्युबमा सुन्न सकिन्छ । उहाँद्वारा अभिनय गरिएका म्युजिक भिडियोहरू हेर्न सकिन्छ । बेलाबेला मिठो गुनगुनाउन पनि हुन्छ । सबै साथीहरूलाई परिचित गराउँदै एउटा गीत गुनगुनाउन अनुरोध गरिहाल्नुभयो ।’ 

मैले स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको आवाज रहेको, ‘एउटा मान्छेको मायाले कति...!’ बोलको गीतको स्थायी हरफ गुनगुनाएर सुनाएँ । पुनः कालीप्रसाद रिजालको रचना र नारायण गोपालकै सङ्गीत तथा आवाज रहेको, ‘केही मिठो बात गर...!’ गाउन अनुरोध गर्नुभयो । मैले सुरुवात गरेँ । उहाँले पनि स्वरमा स्वर खापेर सघाउनुभयो । गाइसकेपछि, शुक्रजीबाट प्रतिव्रिmया आयो, ‘अहा ! तपाईको आवाज साँच्चै नै मिठो रहेछ । सम्भावना बोकेको छ । यसलाई निरन्तरता दिनुहोस् ।’ 

म गायक होइन, तर फुर्किएँ । सबैलाई यही अवगत गराएँ । शुक्रजीलाई मनैदेखि आभार व्यक्त गरँे । 

त्यसपछि, सबैजना कोही कता कोही कता लागे । जो युवा र म बाँकी रह्यौँ । अलिपर कुनामा गयौँ । हाम्रो सुखदुःखका बातचित फेरि सुरु भयो । 
उसले भन्यो, ‘म त अब जे सुकै होस्, घर गएर आउँछु ।’

मैले भनेँ, ‘मेरो पनि बैङ्कको ऋण चुक्ता भएको भए जाने थिएँ । जान कति हो कति मन हुँदाहुँदै मन मारेर बसेको छु । यो सब हाम्रो गरिबीले हो, या त नियतिको खेल हो ।’ 

उसले मुन्टो हल्लाएर सहमति जनाउँदै भन्यो, ‘ऋण कसलाई हुन्न र ! मेरो पनि छ नि । मेरो घर अलिमाथि अभेगमा थियो । त्यसलाई बेचेर रिङरोड छेउ ग्राण्डीको नजिक बनाएको छु । त्यसमा केही ऋणमा परेको छु ।’ 

मैले पनि आफ्नो हाउभाउले बुझेको सङ्केत गरेँ । 

उसले अर्को प्रसङ्ग निकाल्दै भन्यो, ‘हामीले दुःख यो कारणले भोग्दैछौँ कि, हामीले संसारका धेरै कुरा बुझेका छाैं । तर गर्न गाह्रो छ । हामीमा त्यो सामथ्र्य छैन । स्रोत छैन । आर्थिक रूपले सबल छैनौँ । जानेका, बुझेका, सोँचेका, चाहेका कुराहरू धेरै छन् । तर गर्न पाउँदैनौँ । सक्दैनौँ । यसको सारा कारकतत्त्व हाम्रो गरिबी नै हो । हामीसँग पैसा होस्, हामी विश्वका विभित्र देश परिवेश घुमफिर गर्ने थियौँ । सुन्दर दृश्यहरूमा रमाउने थियौँ । बाह्रपन्ध्र घण्टा आकाशमा नै उड्थ्यौँ । विश्वमा यस्तो छ, उस्तो छ भनेर यसरी बुझ्ने भयौँ । तर गर्न असमर्थ छौँ, यसले गर्दा नि हाम्रो तनमन स्थिर रहँदैन । दुःख लागेर आउँछ । आखिर हामी बरु यो केही जान्दै नजात्रे भएको भए, केही दुःखी हुने थिएनौँ होला । गाउँले परिवेशमा हलो जोतेर बसिन्थ्यो होला । श्रीमतीले खाजा मोही र मकै भट्मास भुटेर ल्याइदिने थिइन् होला । खेतबारीको डिलमा बसेर थकान मेटाउँदै खाइन्थ्यो होला । सालभरी खेती किसानी गरेर अत्रबाली उब्जनी गरिन्थ्यो । बिहानबेलुकी छाक टारिन्थ्यो । केही नबुझेपछि मनभरी छट्पटी पनि लाग्दैनथ्यो । सपरिवार सँगै बसिन्थ्यो । गाउँले परिवेशमा बसिन्थ्यो । जीवनचक्र यसैगरी बितिहाल्थ्यो ।’

मैले हो वा होइन केही भनिनँ । याद गरेँ, ‘ठाडै होइन भनूँभने जीवन यसैगरी छट्पटाइरहेछ । हो भनी चित्त बुझाएर बसौँ भने, जे जति छ सोभन्दा माथि प्रगति गर्न हामी मानवले सक्दैनौँ ।’

उनी असाध्यै मिल्ने युवा हुन् । तर, बिदाको दिन उनले रक्सी पिउँनै पथ्र्याे । रक्सी धेरै नपिउँन भनी उनलाई सम्झाउथेँ पनि । यस्तै गफैगफमा व्यक्तिगत लगानी तथा व्यावसायिक कुराहरू पनि निस्किन्थे । व्यावसायिक रूपमा सफल हुने क्षेत्रहरूबारे सुनाउथँे । उनी विश्वस्त हुन्थे । नेपाल फर्केपछि लगानी गरिछाड्ने वचन राख्थे ।

आफ्नो दैनिकी कर्ममा तयार हुन भनी आदेश आयो । हामी दुबै भाइ कुराकानीलाई बिट मार्दै त्यतातर्फ लाग्यौँ । 

जहिले म रातको दश बजे पुग्थेँ । पुग्दाखेरी कहिलेकाँही दुईचार भाइ मिलेर बसेका हुन्थे । तर, प्रायः ऊ एक्लै झोक्रिएर बसेको भेट्थेँ । काम सकेर सबैजना विश्राम लिन गएका हुन्थे । उनी भोजन गरी विश्राम सकेर फर्किएको हुन्थे । म पनि सोही चाहन्थेँ । त्यहाँ पुगेर उनीसँग कुराकानी गरूँ ! मन उसै मिल्थ्यो । कहिले गीतसङ्गीतका कुरा । कहिले राजनीतिका कुरा । कहिले धर्मशास्त्रका कुरा । कहिले गाउँबेसीका कुरा । कहिले समाजका कुरा । कहिले परदेशका कुरा आदि ।

कुनै अर्काे दिन सोही समयमा पुगेँ । ‘आज पुगेर म भविष्यको कुरा गर्छु ।’, सोचेको थिएँ । पुग्ने ठाउँ नजिकै ठूलो पर्खालले बनेको घुम्ती थियो । जब घुम्ती काटेर फुत्त त्यता निस्किएँ । सन्नाटाले छाएको थियो । सायद उनी पनि घर गएका थिए होलान् । उनी थिएनन् । कोही थिएनन् । म सुनसानमा पुगेर हराएँ ।

निक्कै लामो समय कुरुक्षेत्रको लडाइपछि ... 

कुरुक्षेत्रबाट म पनि सन्तुष्ट हुन सकिनँ ।  ‘जन्मदाता आमा र जन्मभूमि सर्वप्रिय हुन्छ, स्वर्गभन्दा प्यारो हुन्छ ।’ लामो अनुभव सङ्गालेर नेपाल फर्किएँ । विगतको लामो कुरुक्षेत्रको लडाइको परिणाम तिन दशकपछि देखा प¥यो । मलाई जीवनमा ठूलै मानसिक असर पर्न गयो । कारण, युवावस्थाको अन्तदेखि जीवनको उत्तरार्ध भरी कुरुक्षेत्रको लडाइ गर्नुप¥यो । मानसिक बिमारले मेरो मनोबल घट्दै गयो । शारीरिक रूपले स्वास्थ्य कमजोर हुँदै आयो । न्युरो अस्पतालमा उपचारको लागि भर्ना भएँ । अस्पतालमा दुईजना युवतीहरू मेरो उपचारमा खटिए । एकजनाले मेरो रक्तचापको मात्रा जाँच गर्दै थिइन् । एकजनाले बिरामी सम्बन्धि सम्पूर्ण आँकडा कम्प्युटरमा प्रविष्ट गर्दै थिइन् । सामुन्ने भएका डाक्टर युवतीसँग मेरो आँखा जुध्यो । जसले मेरो रक्तचाप जाँच गर्दै थिइन् ।  

रक्तचाप जाँच गर्दै गरेकी चिकित्सक युवती मुसुमुसु हाँसिन् र भनिन्, ‘सर हजुरलाई रेस्ट चाहिन्छ । कृपया सुत्नुहोस् ।’ 

मैले मुन्टो हल्लाएर अब निदाउन नसक्ने सुझाएँ । मलाई कम निद्रा लाग्न थालेको थियो । बेडबाट उठ्न खोज्दै थिएँ । ती चिकित्सक युवतीले समाएर ढल्किन अनुरोध गरिन् । मेरो तालुभरी हातका पञ्जा डुलाउँदै फकाइन् । म पुनः ढल्किएँ । निदाउन भने सकिनँ । त्यसपछि दोस्रो चौबिस घण्टामा अस्पतालबाट मेरो डिस्चार्ज गरियो । हरेक हप्ता अस्पताल जानुपर्ने र लेखिएको औषधी सेवन गर्नुपर्ने डाक्टरको डिस्क्रिप्सनमा उल्लेख थियो ।  

नेपाल र एसिएन मूलका चिकित्सकहरूमा केही बढी कर्कस स्वभाव भेटिन्छ । जसले गर्दा बिरामीलाई अझ बढी बिरामी पार्दछ । तर, ‘युरोप र अमेरिकातिर त्यसको ठिक उल्टो हुन्छ । चिकित्सकले सुम्सुम्याएर, उत्साह जगाइदिएर, माया गरेरै बिरामीको आधी बिमार ठिक पारिदिन्छन् ।’, मलाई एकदिन नेपालका चर्चित गीतकार डा.कृष्णहरि बरालले पनि युरोप र अमेरिकाका चिकित्सकहरूबारे यसै बताउनुभएको थियो । त्यो सम्झिएँ । नभन्दै ती चिकित्सक युवतीले पनि अमेरिका गएर ‘यमडि इन् न्युरोलोजिस्ट’ गरेर आएकी अरे ! माया गरिगरी नै उपचार गर्न थालिन् । लाग्थ्यो एउटी आमाले दूधेबालकलाई फकाएभैmँ । माया उसैगर्ने । उनी थिइन् न्युरोलोजिस्ट डा. सारिका पाण्डे । 

हप्तैपिच्छे उपचारमा जान थालेँ । मेरो टाउकोको सिटिस्क्यान गरेको, इसिजि गरेको रिपोर्ट देखाउँदै भत्रे गर्थिन्, ‘सर अब हजुर साठी प्रतिशत ठिक भइसक्नुभयो । चिन्ता नलिनुहोस् । हजुरलाई चाँडै ठिक हुन्छ ।’ 

मिठो मुसुमुसु मुस्कुराउँथिन् । कलिलो हातले नाडी जाँच गर्थिन् । स्थेस्कोप जहिले उनको गाउनको खल्तीमा हुने गथ्र्याे । उपचार क्रममा झनझन उनको आनीबानीले मलाई मायालु महसुस गराउँथ्यो । उनी पनि मसँग नजिकनजिक हुन्थिन् । चार हप्तापछि तिनतिन महिनामा जाँच गराउन अस्पताल आउन भनी सल्लाह दिइन् । म पनि ठिक हुँदै गएँ । दुईवर्ष निरन्तर उपचारपछि अस्पताल जान नपर्ने भयो । 

सारिकाले मलिन मुहार बनाएर भनिन्, ‘सर अब हजुरको बिरामी लगभग ठिक भइसक्योे । तैपनि अरू निरन्तर छ महिना औषधी सेवन गर्नुहोला । अस्पताल भने धाउनुपर्दैन ।’ हामीबिच दुबैको अनुहारमा एकप्रकारको नमिठोपन झल्क्यो । भेट हुने मौका गुमे जस्तो । छुट्न गाह्रो महसुस भए जस्तो । अन्ततः ट्विटर र फेसबुकको आइडि साटेर छुट्याँै । म बिदा भएँ । केही सातापछि फेसबुक म्यासेन्जरमा कुरा ग¥यौँ । त्यसपछि, हामी फेरि निरन्तर कुराकानी गर्न थाल्यौँ । 

जति नै दुःख आइपरे पनि नआत्तिने । महसुस गरेअनुसार सुखमा नमात्तिने स्वभावकी थिइन् डा. सारिका । मनभरी पीडा बोकेर पनि मसँग खुसी साथ कुराकानी गर्थिन् । 

जहिले भत्रे गर्थिन्, ‘कति कुरा आफूमा भएर पनि सदुपयोग हुँदैन रहेछ । म आपैm डाक्टर भएर के गर्नु र खै ! मेरो बाबा बिरामी हुनुहुन्छ । थला पर्नुभएको एकवर्ष भइसक्यो । म डाक्टर बत्रुमा उहाँ नै श्रेयष्कर व्यक्ति हुनुहुन्छ ।’ 

ममीले भत्रुहुन्छ, ‘बाबाले परदेशबाट घर आउँदा जहिले भत्रुहुन्थ्यो अरे, ‘म मेरी छोरीलाई डाक्टर बनाउँछु ।’ अहिले उहाँलाई जति उपचार गरेर पनि ठिक हुनु भा’छैन । उहाँले जीवनमा अत्यधिक रक्सी पिउनुभयो । रक्सीको कारणले गर्दा नै उहाँको शरीरमा कुनै मेडिसिनले काम गर्दैन ।’ 

डा. सारिकाको कुरा सुनेर म बुढोले के गर्न सक्थेँ र । मात्र शब्दको सहानुभूति व्यक्त गर्थेँ, ‘सारिका ! तिमीले नै मलाई उपचार गरेर आज मैले दोस्रो जीवन पाएको छु । जीवन, मृत्युको दोसाँधमा रहेका अनेकौँ बिरामीलाई तिमीले उपचार गरेर जीवन दिइरहेकी छौ । भगवान् छन् भने तिमीमाथि करुणा गर्नेछन् । तिम्रो बाबालाई केही हुँदैन । उहाँ ठिक हुनुहुनेछ । राम्रो उपचार गराउनू । म पनि उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्छु ।’ 
‘मनभरी यत्रो दुःख हुँदाहुँदै मसँग बोल्नु पनि उनको एउटा गुण रहेछ । जुन कि, आपूmले उपचार गरेर जाती भएका मानसिक बिरामीहरूलाई सान्त्वना दिनु !’, मैले पछाडि मात्रै बुभेmँ ।

निकै दिन सारिका मसँग बोल्न भ्याएकी थिइनन् । मैले धेरै म्यासेज पनि गरेको थिएँ । प्रतिउत्तर आएको थिएन ।

एक साँझ भनेँ, ‘हाई डाक्टर सारिका ।’

उनले जवाफ फर्काइन्, ‘हजुर सर नमस्कार । मेरो बोल्न सक्ने अवस्था छैन । आज म शोकको घडीमा छु । हिजोदेखि बाबाले हामीलाई यस धरतीबाट सदासदाका लागि छाडेर जानुभयो । उहाँ हुनुहुन्छ त केवल उहाँको शव मात्रै हामीबिच बाँकी छ । भोलि पशुपति आर्यघाटमा उहाँको अन्तिम दाहसंस्कार हुँदैछ ।’

मैले केही प्रतिक्रिया दिन सकिनँ । दुःखद घटना सुनेर मन दुख्यो । आपूmलाई जसले बचाएकी छन् । उनलाई पितृशोक पर्दा मलाई पनि पर्नसम्म चोट प¥यो । यिनै कुरा छोटकरीमा व्यक्त गरेँ ।

कुनै अर्काे दिन बिहानै राष्ट्रिय दैनिक अखबार पढ्दै थिएँ । बिचको एउटा यस्तो पाना थियो । एकाबिहानै हेर्नै सकिनँ । तेह्रौ दिनको तिथिमा श्रद्धाञ्जली अर्पण गरेको देखेँ । श्रद्धाञ्जली शब्द भावको बिचमा सुन्दर तस्बिर । टाइकोटमा सजिएको पासपोर्ट आकारको । दायाँबायाँ जन्म र मृत्युको तिथिमिति । मुन्तिर डा. सारिकाको सपरिवारको नामावली थियो । उनको परिवारको बरियताक्रम मिलाएर राखिएको । सारिकाले बाबा बिरामी हुनुहुन्छ भन्थिन् । तर आखिर मैले कुनै दिन भेट्न जान जोस चलाइनँ । मैले एउटा भयङ्कर गल्ती गरेँ । भेट्ने अवसर गुमाएँ । श्रद्धाञ्जली अर्पण गरिएको तस्बिरमा त्यही युवाको तस्बिर देखेँ । जो मसँग करिब तिन दशकदेखि टाढा भएका थिए । 

तस्बिर देख्ने बित्तिकै झस्किएँ । एघार महिनाकी छोरी । दुईटा दाँत देखाएर फिस्स हाँस्दै आफूसँग बोल्न खोज्ने कल्पना गर्ने युवा । साँच्चै एघार महिनाकी छोरी न्युरोलोजिस्ट भइछन् । मैले छोरीसँग उपचार गराएँ । केही थप समय जिउने, जीवन पाइसकेँ । तर, कस्तो बिडम्बना ! दुःख भनूँ या खुसी ? ‘केही मिठो बात गर, समय त्यसै ढल्किँदैछ ...!’ यस्ता गीत गाउन अनुरोध गर्थे उनी । साँच्चै नै समय ढल्केर गयो । उतिबेलाको तिनै युवा । कुरुक्षेत्रको युद्धमा युद्ध गर्दा सँगै मिल्ने साथी— हिमाल पाण्डे ।
  

गीतकार तथा कथाकार अर्जुन दुङमेन राईको कथा सङ्ग्रह झुमाबाट ।

प्रकाशित मिति: ११:२२ बजे, शनिबार, माघ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्