‘पूर्वप्रम सुशीलको सादगी र स्वच्छ जीवनी पढाइनुपर्छ’
काठमाडाैं, माघ २८ : पूर्वप्रधानमन्त्री सुशील कोइरालाजस्ता सादगी र स्वच्छ छवि भएका राजनेताको जीवनी धेरैलाई पढाउनुपर्नेमा जोड दिइएको छ। पूर्वप्रधानमन्त्री कोइरालाको सातौँ स्मृति...
काठमाडाैं, माघ २८ : पूर्वप्रधानमन्त्री सुशील कोइरालाजस्ता सादगी र स्वच्छ छवि भएका राजनेताको जीवनी धेरैलाई पढाउनुपर्नेमा जोड दिइएको छ। पूर्वप्रधानमन्त्री कोइरालाको सातौँ स्मृति दिवसका अवसरमा सुशील कोइराला मेमोरियल फाउन्डेसनले आयोजना गरेको भर्चुअल अन्तरक्रियामा पूर्वमुख्यसचिव लीलामणि पौडेलले यस्तो छवि भएको प्रधानमन्त्री देशले पाउन गाह्रो पर्ने गरेकाले उनको जीवनी लेखेर भावी पुस्तालाई पढाउनुपर्नेमा जोड दिए। कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारी पनि यस्तै छवि भएका पूर्वप्रधानमन्त्री भएको आफूले नाम सुनेको उल्लेख गर्दै पौडेलले कोइरालासँग भने आफूले काम गर्ने अवसर पाएको बताए।
'कोइराला प्रधानमन्त्री भएपछि मैले मुख्यसचिवका नाताले पदभार ग्रहण गरेर हस्ताक्षर गर्न तयार पारिने फाइलका लागि पाँच हजार रूपैयाँभन्दा बढीको बिल भुक्तानी गर्नुपूर्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को वेबसाइटमा राख्नुपर्ने प्रस्ताव गरेँ, उहाँको स्वभावअनुसार सहजरूपमा स्वीकार गर्नुभयो, उहाँकै कार्यकालमा मन्त्रिपरिषद्को बैठकमा रु २०० भन्दा कमको खाजा आउने ५०० रूपैयाँ बिल तिर्ने काम बन्द गराउन पनि सहयोग पाएँ,' पूर्वमुख्यसचिव पौडेलले भने।
कोइराला नै प्रधानमन्त्री रहेका बेला लिपुलेकको बाटो भएर चीन र भारतले व्यापार गर्ने विषयमा दुई देशले गरेको सम्झौताका बारेमा सार्वभौम अधिकारको प्रयोग गरी सरकारले लेखेको पत्रले राष्ट्र राष्ट्रियताप्रति कोइरालाको आस्था एवं विश्वासलाई प्रकट गर्ने विचार उनको थियो। प्रजातन्त्र दिवसलाई भव्यरूपमा मनाउने प्रचलनलाई पछिल्लोपटक कोइरालाले नै पुनर्जीवन दिएका थिए।
कोइरालालाई पार्टीभित्र र बाहिरबाट मुख्यसचिव हटाउन दबाब परिरहे पनि उनको अडानकै कारण आफ्नो कार्यकाल पूरा भएको स्मरणसमेत पौडेलले गरे। मुख्यसचिव पदलाई पनि अस्थिर बनाउन रचिएको षडयन्त्रलाई पूर्वप्रधानमन्त्री कोइरालाले असफल बनाइदिएकाे थियो।
कोइरालाको प्रधानमन्त्रीत्वकालमा प्रेस सल्लाहकारका रुपमा काम गरेका वरिष्ठ पत्रकार प्रतीक प्रधानले समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउन कोइरालाको अडान र योगदान दुवै रहेको बताए। 'कोइरालाको प्रधानमन्त्रीत्वकालमा पद बिक्री भएन, अहिलेसम्म पनि उहाँ रहनुभएको भए नेपाली राजनीतिले फरक मोड लिने थियो,' उनले भने।
फाउन्डेसनका सदस्य सचिव अतुल कोइरालाले दलदलमा फसेको राजनीतिलगायत क्षेत्रलाई बाहिर निकाल्न पूर्वप्रधानमन्त्री सुशील कोइरालाको विचारबाट पाठ सिक्नुपर्नेमा जोड दिए। पत्रकार जगत नेपालले व्यावसायिक मान्छेलाई माया गर्ने पूर्वप्रधानमन्त्री कोइराला आम मानिसका लागि प्रेरणा स्रोतका रुपमा रहेकाे बताए। पार्टी पदाधिकारीका रूपमा जिल्ला भ्रमणका बेलासमेत कोइरालाले मितव्ययी भएर हिँडेका अनुभव आफूसँग रहेको उनले सुनाए। सडकमा ढाटको बाहेक पैसा नतिरी हिँडेर राजनीतिलाई कम खर्चमै गर्न सकिन्छ भन्ने पूर्वप्रधानमन्त्री कोइरालाले देखाएका थिए।











