स्वास्थ्यमन्त्री खतिवडा भन्छन्, ‘खोप हराएको छैन’
काठमाडौं, माघ २८ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरसविरुद्धको खोपको २४ लाख मात्रा नहराएको बताएका छन् । मन्त्री भएको एक सय दिन...काठमाडौं, माघ २८ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरसविरुद्धको खोपको २४ लाख मात्रा नहराएको बताएका छन् । मन्त्री भएको एक सय दिन पुगेको अवसरमा आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले खोप हराएको नभइ तथ्याङ्क नआएको उल्लेख गरे।
‘खोपको २४ लाख मात्रा हराएको होइन, हामीले खोप लगाउनका लागि प्रदेश, जिल्ला, स्थानीय तह हुँदै टोलटोलमा स्वास्थ्यकर्मी खटाएका थियौँ,’ मन्त्री खतिवडाले भने, ‘टोलटोलमा गएर लगाएको तथ्याङ्क नआएको मात्र हो ।’ उनले खोप लगाउँदा केही मात्रा खेर गएकाले पनि तथ्याङ्क नमिलेको बताए।
‘एउटा डब्बामा रहेको खोपको १० मध्ये आठ मात्रा लगाइयो र बाँकी दुई मात्रा खोप त्यही दिन लगाइन भने त्यो खेर जान्छ,’ उनले भने, ‘त्यसरी पनि खोपको मात्रा खेर गइरहेको छ ।’ हराएको खोपको सम्बन्धमा मन्त्रालयले प्रमुख विशेषज्ञ डा गुणराज लोहनीको संयोजत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको र चाँडै नै हराएको खोपका बारेमा जानकारी दिने मन्त्री खतिवडाको भनाइ थियो ।
मन्त्री खतिवडाले आगामी वैशाख मसान्तसम्म लक्षित जनसङ्ख्या सबैलाई कोभिड –१९ विरुद्धको खोपको पूर्ण मात्रा प्रदान गर्ने लक्ष निर्धारण गरिएको र त्यसका लागि आवश्यक पर्ने खोपको मौज्दात सुनिश्चित गरिसकिएको बताए। उनले १२ वर्षदेखि माथिका सबैलाई खोप लगाइने जानकारी दिए। सरकारले माघ २७ गतेसम्म १२ वर्षभन्दा माथिको लक्षित जनसङ्ख्याको ७७५ लाई पहिलो मात्रा र ६९५ लाई खोपको पूर्ण मात्रा प्रदान गरेको छ।
यस्तै मन्त्री खतिवडाले ५–११ वर्ष उमेर समूहका बालबालिकालाई समेत कोभिड–१९ विरुद्धको खोप प्रदान गर्न खोपको उपलब्धता सुनिश्चितता भइसकेको बताए। हालसम्म चार करोड ६५ लाख ७० हजार ७२० खोपको मात्रा प्राप्त भइसकेमा तीन करोड ४८ लाख २५ हजार ६०१ मात्रा लगाइएको छ । मन्त्रालयले खोपको पहुँच नपुगेको स्थान र समुदायको पहिचान गरी प्रदेश र स्थानीय सरकारको नेतृत्वमा खोप अभियान सञ्चालन गरेको मन्त्री खतिवडाले जानकारी दिए।
‘ठूला अस्पतालमा र जनघनत्व बढी भएका सहरका विभिन्न सार्वजनिक स्थानमा खोप केन्द्र निर्धारण गरेर दैनिक रुपमा खोप प्रदान भइरहेको छ,’ उनले भने, ‘दैनिक आवतजावत गर्ने स्थान जस्तै बसपार्क, काठमाडाँै उपत्यकाका मुख्य प्रवेश नाकामा यात्रुलाई लक्षित गरी दैनिक खोप सेवा प्रदान गरिएको छ।’
मन्त्री खतिवडाले आफ्नो सय दिनको कार्यकालको उपलब्धमा कोरोना भाइरसको पिसिआर परीक्षण शुल्क घटाएको उल्लेख गरेका छन्। निजी अस्पताल÷प्रयोगशालामा रु दुई हजारबाट एक हजार ५०० र सरकारी स्वास्थ्य संस्थामा रु एक हजारबाट रु आठ सय कायम गरिएको जानकारी दिए।
यस्तै कोरोना सङ्क्रमितको उपचार व्यवस्थापनका लागि अक्सिजन प्लान्ट, अक्सिजन सिलिन्डर, सघन उपचार कक्ष (आइसियु) शय्या, हाई डिपेडेन्सी युनिट (एचडियु) शय्याको सङ्ख्या वृद्धि गरी अस्पतालको क्षमता वृद्धि गरिएको मन्त्री शर्माले बताए। यस्तै कोभिड–१९ युनिफाइड अस्पताल (वीर अस्पताल) मा २४ सै घण्टा कोरोना भाइरसको उपचारका लागि हटलाइन (११३३) सेवा मार्फत परामर्श सेवा प्रदान गर्न सुरु गरिएको छ ।
भारतसँग सिमाना जोडिएका प्रवेश विन्दुमा स्थापित हेल्थ डेस्कको क्षमता वृद्धि गरी दैनिक नेपाल प्रवेश गर्ने यात्रुमध्ये ९०५ को स्क्रिनिङ् भएको र तिमध्ये ८७ ५ भन्दा बढीको कोभिड–१९ को परीक्षण भइरहेको मन्त्री खतिवडाले जानकारी दिए।
रेविज विरुद्धको खोप ‘इम्युनोगÞलोबुलिन’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुबाट मात्र वितरण गरिँदै आएकामा हाल सातै प्रदेशका एक÷एक अस्पतालबाट निःशुल्क उपलब्ध हुने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
ज्येष्ठ नागरिक अस्पताल अर्को आर्थिक वर्षमा
मन्त्री खतिवडाले ज्येष्ठ नागरिकलाई मात्र उपचार गर्न भनेर ज्येष्ठ नागरिक अस्पताल स्थापना गर्न लागिएको बताए। उनले अस्पताल स्थापनाका लागि समिति गठन गरेर सम्भाव्यता अध्ययन कार्य भइरहेको र अर्को वर्ष बजेट विनियोजन गरेर कार्य प्रारम्भ गर्ने जानकारी दिए। मुलुकको मध्यभागमा ज्येष्ठ नागरिक अस्पताल स्थापना गर्ने सरकारको तयारी छ।
यस्तै दुई हजार २०० वडामा वडा तहको आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण कार्य सम्पन्न भएको उहाँको भनाइ छ । दुई सय २६ पालिकामा पाँच, दश, १५ शय्याका आधारभूत अस्पतालको बोलपत्र प्रक्रिया भई कार्य प्रारम्भ भएको उनले बताए। जर्मन विकास बैंकको सहयोगमा दोलखाको जिरी, रामेछाप र गोर्खामा सुविधा सम्पन्न अस्पताल भवन निर्माण सम्पन्न भएर हस्तान्तरणसमेत भइसकेको उहाँले जानकारी दिए।
खतिवडा गत असोज २२ गते स्वास्थ्यमन्त्रीमा नियुक्त भएका थिए । उनी २०७४ सालको संसदीय निर्वाचनमा मकवानपुर क्षेत्र नं २ बाट निर्वाचित भएका थिए।











