डा.सन्दुक रूइतको जीवनी आउँदै
काठमाडौं, असोज १ : डा.सन्दुक रूइतको जीवनी ‘सन्दुक रूइत’ आउन लागेको छ। यो पुस्तक असोज ११ गते सार्वजनिक हुने भएको छ।
अस्ट्रेलियन प....

काठमाडौं, असोज १ : डा.सन्दुक रूइतको जीवनी ‘सन्दुक रूइत’ आउन लागेको छ। यो पुस्तक असोज ११ गते सार्वजनिक हुने भएको छ।
अस्ट्रेलियन पत्रकार अली ग्रिपरले लेखेको किताब लेखक खगेन्द्र संग्रौलाले नेपालीमा अनुवाद गरेका हुन्। डा. रुइतले म्यागासेसे, पद्मभूषणजस्ता प्रतिष्ठित पुरस्कार पाएका छ।
डा. रूइतको जीवनी लाखौं मानिसलाई आँखाको ज्योति प्रदान गर्ने एक नेत्र चिकित्सकको प्रेरणादायी कथा हो। संसारका चिकित्सकीय संस्थापन पक्षसँग निरन्तर जुध्दै सबैभन्दा गरिब र असहाय मानिसलाई नेत्रज्योति उपहार दिएर तिनको जीवनलाई अँध्यारोबाट उज्यालोतिर मोडिदिने अद्भूत डा. रूइतको जीवन्त एवं रोचक कथा हो, यो पुस्तक।
यसमा विभेदकारी जातप्रथाको सबैभन्दा तल्लो तहमा दुर्गम हिमाली गाउँमा जन्मिएर कठिन प्रयत्न एवं अथक संघर्षका अनेक घुम्ती पार गर्दै संसारकै सबैभन्दा आदरणीयमध्ये एक बनेका नेत्रविशेषज्ञको जीवनवृत्तको रोमाञ्चक गाथा सम्मोहनयुक्त रुपमा लेखिएको छ।
उनले नेपालीमा आफ्नो जीवनी आउन लागेकोमा खुशी जनाए। ‘अंग्रेजीमा लेखिएको मेरो जीवनीको नेपाली अनुवाद आउँदै गर्दा म एकदम हर्षित भएको छु। मेरो पुस्तकले कसैलाई परोपकार वा सत्कर्मको बाटोमा लाग्न प्रेरित गर्यो भने मेरो जीवनी सार्थक भयो भन्ने म ठान्नेछु,’ डा.रुइतले भने।
पुस्तक अनुवादक खगेन्द्र संग्रौलाले यसको नेपालीमा अनुवाद गर्नु आफ्नो जीवनको सुखद क्षण भएको बताए।
‘सन्दुक रूइतको जीवन जिज्ञासा र अन्वेषण, संघर्ष र संकल्प, साहस र सेवाभाव, करूणा र परोपकार तथा त्याग र समर्पणले ओतप्रोत एवं सादा जीवन, उच्च विचारको आदर्शले शोभित सानदार जीवन हो,’ लेखक संग्रौलाले भने, ‘रूइतको नागबेली जीवनयात्रा बहुआयामिक विशिष्टतायुक्त, प्रेरणादायी एवं अनुकरणीय छ । यस्ता उत्कृष्ट मानिसको भव्य जीवन कथा अनुवाद गर्दाका क्षण मेरो जीवनका सुखद र सार्थक क्षणहरु हुन्।’
यसलाई नेपालीमा प्रकाशन गरेको प्रकाशक फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले यो डा.रुइतप्रतिको सम्मान भएको बताए।
‘विनयशीलता र परोकारका प्रतीक डा. रूइतको जीवनी प्रकाशन गर्न पाउनु हाम्रा लागि ठूलो सौभाग्य हो । यो हामीले उनलाई गर्न सक्ने सम्मान पनि हो,’ भारीले भने, ‘मलाई लाग्छ, जोन उडको माइक्रोसफ्टदेखि बाहुँनडाँडासम्मले जस्तै यो पुस्तकले पनि वैभव र विलासको जीवन त्यागेर संसारलाई असल बनाउने उदात्त कर्ममा लाग्न हामीलाई प्रेरित गर्छ।’
यो पुस्तक अस्ट्रेलियन प्रकाशन गृह एलेन एन्ड अनविनले पहिलो पटक अंग्रेजीमा प्रकाशन गरेको थियो। प्रकाशन गृहसँग अनुवाद अधिकार लिएर फाइनप्रिन्टले नेपालीमा छापेको हो।
यसको मूल्य ५५० रुपैयाँ रहेको छ।












