Kathmandu Press

साइबर युगलाई ध्यानमा राखेर अपराध अनुसन्धान पद्धतिकाे विकास गर्नुपर्छ : प्रहरी महानिरीक्षक

काठमाडौं, माघ २८ : समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले साइबर युगको वर्तमान अवस्थामा त्यसैको अभ्यासमा केन्द्रित रहेर अपराध अनुसन्धानको पद्धतिलाई विकास गर्नुपर्ने बताएका...
साइबर युगलाई ध्यानमा राखेर अपराध अनुसन्धान पद्धतिकाे विकास गर्नुपर्छ : प्रहरी महानिरीक्षक

काठमाडौं, माघ २८ : समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले साइबर युगको वर्तमान अवस्थामा त्यसैको अभ्यासमा केन्द्रित रहेर अपराध अनुसन्धानको पद्धतिलाई विकास गर्नुपर्ने बताएका छन्।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको ६६औं वार्षिकोत्सवका अवसरमा आज (शुक्रबार) आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल प्रहरीले प्रशिक्षण पद्धतिमा परम्परागत प्रणालीको साथै आधुनिकतालाई पनि सम्बोधन गर्ने किसिमले प्रविधिप्रति दक्ष जनशक्ति उत्पादनका लागि आवश्यक पर्ने पाठ्यक्रम तथा पाठ्य सामग्रीहरु निर्माण गर्नुपर्नेमा जोड दिए।

‘प्रहरीले सर्वसाधरणलाई गर्नुपर्ने व्यवहारलाई मानवोचित बनाउन प्रशिक्षणका दौरान मानवोचित धर्म र कर्मलाई कसरी अक्षुण राख्ने भनी प्रशिक्षण दिनुपर्छ,’उनले भने। 

थापा क्षेत्रीले अनवरत रुपमा उक्त प्रतिष्ठान र अपराध अनुसन्धान विद्यालयमा सेवारत रही घटनास्थल अनुसन्धान अधिकृत तालिम र अनुसन्धानात्मक अन्तर्वार्ता तालिमको थालनी एवं नेपाल प्रहरीको प्रशिक्षण विकासमा विशेष योगदान पुर्‍याउने अवकाश प्राप्त प्रहरी उपरीक्षक जयबिष्णु नेपालीलाई ‘लाईफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरे। उनले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजद्वारा प्रकाशित ‘प्रेरणा(२०७८’ को लोकार्पण पनि गरे।

उक्त अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाहीले धन्यवाद ज्ञापन व्यक्त गर्दै वर्तमान अवस्थामा वैकल्पिक प्रशिक्षण विधि तथा प्रशिक्षणमा प्रविधिको प्रयोग हेतू प्रतिष्ठानले यस आर्थिक वर्षदेखि नेपाल प्रहरीको तालिम क्यालेण्डरमा नै राखी अनलाईन तालिमहरू सञ्चालन गरेको जानकारी दिए । 

सोही प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक डा. देवबहादुर बोहरा, पिजिडिपिएस कार्यक्रमका सल्लाहकार प्राध्यापक डा. राजीवविक्रम राणा, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायब महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, सशस्त्र प्रहरी बल कमाण्ड तथा स्टाफ कलेजका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, विभिन्न प्रशिक्षण संस्थाका प्रतिनिधिहरु लगायत प्रहरी अधिकृतहरुको उपस्थिति थियो।

 

 

प्रकाशित मिति: १५:४७ बजे, शुक्रबार, माघ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्