त्रिपुरेश्वरमा शौचालय उद्घाटनपछि मेयरले भने– वातावरणमैत्री पूर्वाधार निर्माण महानगरकाे याेजना
काठमाडौं, माघ २८ : काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वर बस बिसौनीसँगै आधुनिक शौचालय सञ्चालनमा ल्याएको छ। एरोसानसँगको सहकार्यका निर्माण गरिएको शौचालय शुक्रबार (आज) महानगरका मेयर विद्यासुन्दर...
काठमाडौं, माघ २८ : काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वर बस बिसौनीसँगै आधुनिक शौचालय सञ्चालनमा ल्याएको छ। एरोसानसँगको सहकार्यका निर्माण गरिएको शौचालय शुक्रबार (आज) महानगरका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरेका थिए।
उद्घाटन कार्यक्रममा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष हीरालाल तण्डुकार, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, एरोसानका नेपाल प्रतिनिधि प्रकाश अमात्यसहित पदाधिकारीहरुको सहभागिता थियो।
पुरानो टिकट काउन्टर भएको ठाउँमा शौचालय निर्माण गरिएपछि बसबाट झर्नेबित्तिकै सुविधा भोग गर्न पाइने भएको छ। दिगो विकासका लागि वातावरणमैत्री पूर्वाधार निर्माण र प्रविधियुक्त सहरी सेवा सुविधा वितरणमा महानगर प्रतिबद्ध रहेको मेयर शाक्यले बताए। ‘सहरमा सार्वजनिक शौचालय चाहिन्छ भन्ने माग छ। तर आफ्नो नजिक नबनाइदिनू भन्ने सर्त हुन्छ।
त्यसैले हामीले काम गर्दा विवाद आउला कि काम रोकिएला कि भनेर डराउनुपर्छ,’ शाक्यले भने, ‘हामीले घना बस्तीबीच कसैलाई असर नहुने शौचालय बनाउने भनेका थियौँ। हामीले बनाएका शौचालय दुर्गन्ध नआउने, शौचालय छ कि छैन थाहा नहुने खालका हुन्छन्। हामीले जे नीति लिएका थियौँ। आज क्रमशः कार्यान्वयनमा ल्याएका छौँ। यसका लागि स्थानीयबाट प्राप्त भएको सहयोग अतुलनीय छ।’
थप नीति तथा कार्यक्रमहरु क्रमशः कार्यान्वयन लैजाने प्रतिबद्धता पनि उनले गरेका छन्। त्यस्तै, उद्घाटन कार्यक्रममा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले शौचालयको गम्भीरता र आवश्यकतालाई अध्ययन गर्दै यस्ता नमुना कामलाई विस्तार गर्नुपर्ने बताइन्।
वर्षौँदेखि सञ्चालन हुँदै आएका सार्वजनिक शौचालय, त्यसको सञ्चालन व्यवस्थापनको रूपान्तरण र स्तरोन्नति, अन्य सार्वजनिक सेवा प्रदायक कार्यालयमा उपलब्ध शौचालयलाई सार्वजनिक उपयोग ल्याउने सम्भावनामा महानगरको जोड छ।












