फागुन १ देखि १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज : स्वास्थ्यमन्त्री
काठमाडाैं, माघ २८ : सरकारले फागुन १ गतेदेखि सबै नागरिकलाई बुस्टर डोज दिने भएको छ।कोरोना भाइरसविरुद्धको दुवै डोज खोप लगाएर ६ महिना पुगेका...काठमाडाैं, माघ २८ : सरकारले फागुन १ गतेदेखि सबै नागरिकलाई बुस्टर डोज दिने भएको छ।
कोरोना भाइरसविरुद्धको दुवै डोज खोप लगाएर ६ महिना पुगेका १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज खोप दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आज (शुक्रबार) मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्यमन्त्री विरोध खतिवडाले कोभिडविरुद्ध पूर्ण मात्रा खोप लगाएका १८ वर्षमाथिका सबै नागरिकलाई अब फागनु १ गतेबाट बुस्टर डोज दिइने जानकारी दिए।
बुस्टरको रुपमा कोभिसिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय भएको उनले बताए। आफूले कार्यभार सम्हालेपछि भएका काम र भावी योजनाबारे जानकारी दिँदै मन्त्री खतिवडाले खोपको पहुँच नपुगेको स्थान र समुदायको पहिचान गरी प्रदेश र स्थानीय सरकारको नेतृत्वमा खोप अभियान सञ्चालन गरिएको जानकारी दिए।
त्यस्तै उनले खोप लगाएको क्यूआरकोड सहितको प्रमाण पत्र स्थानीय तहबाट उपलब्ध गराउन सुरु गरिएको बताए।
२०७८ आश्विनसम्म लक्षित जनसंख्याको एक तिहाईलाई पूर्ण खोप लगाउने लक्ष्य हासिल भइसकेको र २०७९ वैशाख मसान्तसम्म लक्षित जनसंख्या सबैलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप प्रदान गर्ने लक्ष्य निर्धारण गरिएको उनले बताए।
मन्त्री खतिवडाले हालसम्म ४ करोड ६५ लाख ७० हजार ७२० खोप प्राप्त भइसकेको र ३ करोड ४८ लाख २५ हजार ६०१ मात्रा खोप लगाएको जानकारी दिए। त्यस्तै आवश्यक खोपको मौज्दात सुनिश्चीत गरिएको उनले बताए।
मन्त्री खतिवडाले दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यले सरकार र विकास साझेदारको संयुक्त पहलमा नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना, २०७९–२०८६ तर्जुमा कार्य सुरु गरिएको र आगामी दुई महिनामा लागत अनुमान सहितको मस्यौदा तयार हुने उल्लेख गरे।
त्यस्तै नेपालमा पहिलोपल्ट संघ, प्रदेश र स्थानीय गरी ३ ओटै तहमा जनगणना २०७८ मा आधारित मातृमृत्यु अध्ययन सम्पन्न गरिएको उनले बताए। हालसम्म २२०० आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण कार्य सम्पन्न भएको र ५, १०, १५ बेडका २२६ वटा आधारभूत अस्पतालको टेन्डर प्रक्रिया भई कार्य प्रारम्भ भएको मन्त्रालयले जनाएको छ।











