तनाव कम गर्न रूसले फौजलाई पछि हटाउनुपर्छ : बेलायत

लण्डन, माघ २७ : मस्कोले आक्रमण गर्ने योजना बनाएको आशङ्काका कारण रुस र पश्चिमबीचको तनाव कम गर्न रुसले यूक्रेनसँगको सीमाबाट सेना हटाउनुपर्ने बेलायतले बिहीबार जनाएको छ।
बेलायती विदेशमन्त्री लिज ट्रुसले मस्कोमा आयोजित प्रेस सम्मेलनमा भने, 'हामीले युक्रेनी सीमामा रहेका फौज र उपकरणहरू अन्यत्र सरेको देख्नु आवश्यक छ किनभने अहिले यो एकदमै खतरनाक सुरक्षा चासोको अवस्था बनेको छ।
ट्रुसले युरोपेली सुरक्षा र यूक्रेनको तनावबारे मस्को र पश्चिमका अधिकारीहरूबीच हप्तौंको गहन वार्ताको पछिल्लो समयमा रूसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेट गरेका छन।
मस्कोमा भएको वार्तापछि ट्रुसले भने, 'लाभरोभसँगको मेरो छलफलले सकारात्मक सन्देश दिएको छ। उहाँले रूसको युक्रेनमा आक्रमण गर्ने कुनै योजना नभएको बताउनुभयो तर हामीले ती शब्दहरू पछ्याउनु आवश्यक छ।'
रूसले आफ्नो पूर्व सोभियतकालिन भूभागमा रहेको छिमेकी यूक्रेन वरिपरि करिब एक लाख सेना तैनाद गरेपछि युक्रेनमा पृथकतावादी द्वन्द्व चर्काउने तयारी भइरहेको पश्चिमी राजधानीका नेताहरुले चेतावनी दिँदै आएका छन्।
लाभरोभले संयुक्त प्रेस सम्मेलनमा संवाददाताहरूलाई आफू वार्ताबाट ‘निराश’ भएको कुरा बताए। रूसी गुनासोहरू दोहोर्याउँदै रूसको आफ्नो सुरक्षाको चिन्ता प्रकट गरेको उनले बताए।
उनले भने, 'मैले महसुस गरें कि या त हाम्रा राष्ट्रपतिले दिएका स्पष्टीकरणहरूबारे हाम्रा सहकर्मीहरूलाई थाह थिएन वा तिनीहरूले ती व्याख्याहरूलाई पूर्णतया बेवास्ता गरिरहेका छन्।'
यूक्रेनको सिमानामा रहेको बेलारूसमा रूसी र बेलारूसी फौजबीच ठूलो सैन्य अभ्यास सुरु हुँदा विदेश मन्त्रीहरूबीचको भेट भएको हो।












