स्थानीय निर्वाचनमा सबै तहमा उम्मेदवार खडा गर्ने राप्रपाकाे निर्णय
काठमाडाैं, माघ २७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय निर्वाचनमा सवै तहमा उम्मेद्वार खडा गर्ने निर्णय गरेको छ।पार्टी कार्यालय धुम्वाराहीमा बिहीबार बसेको राप्रपा पदाधिकारी...काठमाडाैं, माघ २७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय निर्वाचनमा सवै तहमा उम्मेद्वार खडा गर्ने निर्णय गरेको छ।
पार्टी कार्यालय धुम्वाराहीमा बिहीबार बसेको राप्रपा पदाधिकारी बैठकले वैशाख ३० गते हुने निर्वाचनमा सबै तहमा उम्मेद्वार खडा गर्ने र पार्टीको संगठन सुदृढ र क्रियाशील गर्ने निर्णय गरेको हो।
निर्वाचनलाई मध्यनजर गर्दै घर दैलो , आमसभा लगाएका कार्यक्रम गर्ने र कार्यक्रममा शिर्ष नेताहरुलाई नै सहभागी गराउने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीलाई अत्यधिक सफलता हासिल गर्न महामन्त्री एवं स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकद्वारा प्रस्तुत स्थानीय तह निर्वाचन विशेष कार्ययोजना बारे छलफल भएको थियो।
यस्तै फागुन महिनालाई प्रशिक्षणको महिना बनाउने, पार्टीको केन्द्रीय, प्रदेश र जिल्ला तहमा प्रशिक्षण सञ्चालन गर्ने, जिल्ला कार्यसमिति र स्थानीय तहअन्तर्गतका समितिको सिफारिसमा फागुन मसान्तभित्र उमेदवार छनोट गर्ने प्रवक्ता श्रेष्ठले बताए।
यस्तै बैठकले समान विचार भएकाहरुसँग एकता, मोर्चा वा सहकार्यका लागि भइरहेका प्रयासको समीक्षा गर्दै जारी वार्तालाई निरन्तरता दिने निर्णय भएको उहाले जानकारी दिए। त्यस्तै उनले राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी र सुदृढ स्थानीय तहलगायत सैद्धान्तिक अवधारणा र कार्यदिशामा अविचलित रहेको पनि पुनः स्पष्ट पारिएको बताए। प्रवक्ता श्रेष्ठले पार्टी परित्याग गर्ने कमल थापाको निर्णय अनपेक्षित रहेको उल्लेख गरे।
यसैबीच राप्रपाका पूर्वअध्यक्ष पशुपति शम्शेर जबराले कमल थापाले पार्टी त्यागको घोषणा गर्नु अनपेक्षित भएको भन्दै थापा पार्टीमा फर्किने विश्वास व्यक्त गरेका छन्। उनले कमल थापाको निर्णय अपर्झट आएको र दुख लाग्दो भएको पनि बताए।
राप्रपाले केन्द्रीय कार्यसमितिको बैठक फागुन ११ गते बोलाएको छ।











