उपत्यकामा ‘मोटरसाइकल चोर’ को बिगबिगी, चालु आर्थिक वर्षमै ८३१ मोटरसाइकल चोरी
ट्राफिक प्रहरी महाशाखाले उपत्यकाबाट चोरी भएका १७ वटा मोटरसाइकल र ११ वटा स्कुटर सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ।
काठमाडौं, माघ २७ : बिहीबार ट्राफिक प्रहरी महाशाखाले एक कार्यक्रम आयोजना गरी २८ जना व्यक्तिलाई उनीहरुको मोटरसाइकल फिर्ता ग¥यो। काठमाडौं उपत्यकाभित्र चक्रपथ र भित्री सडकबाट चोरी भएका मोटरसाइकल फेला पारि सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरिएको हो।
ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी उमेशराज जोशीले १७ वटा मोटरसाइकल र ११ वटा स्कुटर सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरे। चोरी भएका मोटरसाइकल फेला परेपछि सवारी धनीहरु खुशी हुने नै भए।
महाशाखाका प्रवक्ता एसपी संजीव शर्मा दासका अनुसार सवारीधनीको उजुरीका आधारमा खोजतलास गर्दा फेला परेपछि सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरिएको हो।
सवारी साधन हस्तान्तरण गर्दै महाशाखाका प्रमुख एसएसपी जोशीले सवारीसाधनका धनी पनि चनाखो हुनुपर्ने बताए। सुरक्षित स्थानमा मात्र पार्किङ गर्ने, सवारी साधनको ह्याण्डिल लक तथा अतिरिक्त लक गर्ने सुरक्षा प्रणालीको व्यवस्था गर्न पनि आग्रह गरे। सवारी साधनका कागजातहरु सवारी साधनमै नराख्न पनि उनको अनुरोध छ।
_1333x1000.jpg)
‘कतिपय सवारी दर्ता किताव (ब्लुबुक) सहित हराएका स्कुटरहरु नम्बर प्लेट समेत परिवर्तन नगरि चलाएको अबस्थामा सक्कल ब्लुबुक सहित ट्राफिक चेकिङ्गमा पर्दा ट्राफिक प्रहरीलाई समेत बास्तबिकता निर्क्यौल गर्न कठिनाई हुने देखिन्छ, उनले भने।
चालु आर्थिक वर्षमा ८३१ मोटरसाइकल चोरी
महाशाखाका अनुसार चालु आर्थिक वर्षमा मात्रै ८३१ वटा मोटरसाइकल हराएको भनि निवेदन परेको छ । ती मध्य अधिकांश पल्सर १५० सीसीको मोटरसाइकल रहेको महाशाखाले जनाएको छ। हराएका भनि निवेदन परेकामध्य ३०९ मोटरसाइकल फेला पारिएको र २४४ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाइसकिए महाशाखाले जनाएको छ।
उपत्यकामा दुईपांग्रे सवारी साधन चोरी गर्ने कार्यमा संलग्न ३८ जनालाई पक्राउ समेत गरिएको महाशाखाले जनाएको छ। उनीहरुको साथबाट २८ वटा मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ।
एसएसपी जोशीले मोटरसाइकल तथा स्कुटर चोरी गर्ने गिरोहमाथि निरन्तर निगरानी राखि सूचना संकलन भइरहेको बताए। चोरीमा संलग्न त्यस्ता व्यक्तिहरुलाई नियन्त्रणमा लिन विशेष अपरेसन टोली खटाएर खोजी कार्यसमेत गरिँदै आएको बताए।
अघिल्लो आर्थिक वर्षको तथ्यांक
अघिल्लो दुई आर्थिक वर्षको तथ्यांक हेर्दा उपत्यकामा मोटरसाइकल चोरीका घटना उस्तै देखिन्छ। आर्थिक वर्ष २०७७/०७८ १ हजार ३५६ मोटरसाइकल चोरी भएको उजुरी परेको थियो। त्यसमध्य ३९७ वटा मोटरसाइकलमात्र प्रहरीले फेला पारेको थियो भने ३६७ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई हस्तान्तण गरेको थियो। सो वर्ष मोटरसाइकल चोरीमा संलग्न रहेका ५१ जनालाई पक्राउ गरी कारवाही गरिएको थियो।

त्यसभन्दा अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को तथ्यांक पनि उस्तैउस्तै छ। सो वर्ष १ हजार ३७९ थान मोटरसाइक चोरी भएको उजुरी महाशाखामा परेको थियो। उजुरी पछि खोजतलास गर्दा ३५५ थान मोटरसाइकल मात्रै प्रहरीले फेला पार्न सक्यो। फेला पारिएकामध्य ३२८ वटा मात्रै सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको छ। चोरीमा संलग्न ३८ जनालाई पक्राउ गरीएको महाशाखाले जनाएको छ।
महाशाखाले मोटरसाईकल चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्ने अभियानलाई प्रभावकारी बनाउन पिडित सहायता इकाईबाट सादा पोशाकमा थप ट्राफिक प्रहरी समेत परिचालन गरेको जानकारी दिएको छ ।
सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाईन नम्बर ‘१०३’ मा फोन गरेर वा ‘लस्ट भेहिकल एप्लिकेशन’ मा लगइन गरेर अनलाईन मार्फत समेत निवेदन दिन ट्राफिक महाशाखाले अनुरोध गरेको छ।











