Kathmandu Press

स्रोत सुनिश्चित नहुँदा चालु आर्थिक वर्षको बजेट घटाउनुपर्‍यो : अर्थमन्त्री शर्मा 

काठमाडौं, माघ २७ : सरकारले चालु आर्थिक वर्षको बजेटको आकार ८६ अर्ब ५५ करोड रुपैयाँले घटाएको छ।बिहीबार अर्थमन्त्री जनार्दन शर्माले अर्धवार्षिक समीक्षामार्फत चालु आर्थिक...
स्रोत सुनिश्चित नहुँदा चालु आर्थिक वर्षको बजेट घटाउनुपर्‍यो : अर्थमन्त्री शर्मा 

काठमाडौं, माघ २७ : सरकारले चालु आर्थिक वर्षको बजेटको आकार ८६ अर्ब ५५ करोड रुपैयाँले घटाएको छ।

बिहीबार अर्थमन्त्री जनार्दन शर्माले अर्धवार्षिक समीक्षामार्फत चालु आर्थिक वर्ष २०७८÷७९को बजेटको आकार घटाइएको जानकारी दिएका हुन्।

चालु वर्ष सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेटको आकार तय गरेको थियो। अब बजेटको आकार १५ खर्ब ४६ अर्ब २८ करोड हुनेछ। यसमा स्थानीय तहको निर्वाचन, कोरोना खोप खरिदलगायतका हुने खर्च समावेश गरिएको मन्त्रालयले जनाएको छ।

सरकारले सुरुको विनियोजनबाट खर्च नहुने अनुमान गरिएको रकम घटाउन बजेट संशोधन गरेको हो। अब चालुतर्फ १० खर्ब ३५ अर्ब ४६ करोड खर्च गर्ने सरकारी लक्ष्य छ । त्यसैगरी पुँजीगततर्फ ३ खर्ब ४० अर्ब ३२ करोड खर्च गरिनेछ।

अर्थमन्त्री शर्माले मुलुकका आर्थिक वृद्धिदरमा पनि सकारात्मक असर पर्ने र मुद्रास्थीति नियन्त्रणमा रहेको बताए। त्यस्तै उनले ९५.५ प्रतिशतले निर्यात बढेको र आयात ५१.१ प्रतिशतले बढेको जानकारी दिए।

विप्रेषण आप्रवाह नेपाली मुद्रामा ५ दशमलव ५ प्रतिशतले कमी आएको र शोधान्तर घाटा २ खर्व ४१ अर्व २३ करोड रहेको मन्त्री शर्माले बताए। मन्त्री शर्माले बजेटमा चुनावका लागि १० अर्ब रूपैयाँ मात्रै छुट्याइएको जानकारी दिए। अरु बजेट कहाँबाट व्यवस्थापन गर्ने भनेर अध्ययन भइरहेको उनले बताए।

अर्थमन्त्री शर्माले स्रोत सुनिश्चितता नहुँदा बजेटको आकार घटाउनुपरेको तर्क गरे। त्यस्तै उनले हचुवाका भरमा आयोजनाहरुको छनोट गर्दा पनि पुँजीगत खर्चको समस्या भएको जिकिर गरे।

मन्त्री शर्माले वैदेशिक मुद्राको सञ्चितिमा परेको चाप कम गर्न विभिन्न नीतिगत उपाय अवलम्बन गरिएको पनि बताए।

प्रकाशित मिति: १७:१५ बजे, बिहीबार, माघ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्