Kathmandu Press

मध्यपश्चिम विश्वविद्याल र मलेसियाको रहमान युनिभर्सिटीबीच शैक्षिक सहकार्यकाे सम्झौता

सुर्खेत, माघ २७ : मध्यपश्चिम विश्वविद्याल र मलेसियाको तुङ्कु अब्दुल रहमान युनिभर्सिटी कलेजबीच शैक्षिक सहकार्यका लागि द्विपक्षीय सम्झौता गरिएको छ।मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राध्यापक...
मध्यपश्चिम विश्वविद्याल र मलेसियाको रहमान युनिभर्सिटीबीच शैक्षिक सहकार्यकाे सम्झौता

सुर्खेत, माघ २७ : मध्यपश्चिम विश्वविद्याल र मलेसियाको तुङ्कु अब्दुल रहमान युनिभर्सिटी कलेजबीच शैक्षिक सहकार्यका लागि द्विपक्षीय सम्झौता गरिएको छ।

मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंह र तुङ्कु अब्दुल रहमान युनिभर्सिटी कलेजका तर्फबाट अध्यक्ष प्राध्यापक डा. ली जी वेइले भर्चुअल माध्यमबाट सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। 

अनलाइन सम्झौता समारोहमा मध्यपश्चिमका उपकुलपति सिंह तथा समकक्षी रहमान यूनिभर्सिटी कलेजका अध्यक्ष वेइले आ–आफ्नो विश्वविद्यालयका शैक्षिक कार्यक्रम र सहकार्यका सम्भावनाबारे धारणा व्यक्त गरेका थिए। मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति सिंहले सम्झौतापश्चात् दुवै शैक्षिक संस्थाको विकासका साथै आपसी समझदारीलाई बढावा दिने विश्वास व्यक्त गरे। 

तुङ्कु अब्दुल रहमान यूनिभर्सिटीका अध्यक्ष वेइले विद्यार्थी, प्राध्यापक तथा कर्मचारी आदानप्रदान हुने र उक्त कार्यमा आफ्नो पूर्ण साथ तथा समर्थन रहने प्रतिबद्धता जनाए। दुवै विश्वविद्यालयले समानता र पारस्परिकताका आधारमा आपसी हितका लागि विभिन्न सहयोगी गतिविधि सञ्चालनका लागि सम्झौता गर्न सहमत भएको जनाए। सम्झौता अवधि पाँच वर्षको रहेको छ।  

नेपाल सरकारद्वारा २०६७ असार ३ गते स्थापना भएको मध्यपश्चिम विश्वविद्यालय स्वायत्त तथा सार्वजनिक उच्च शिक्षा संस्था हो। यसले देशभर सात स्नातक क्याम्पस, १० आंगिक क्याम्पस, दुई स्कूल र एक सम्बन्धन प्राप्त कलेज सञ्चालन गरेको छ। विश्वविद्यालयमा कृषि तथा वन विज्ञान, शिक्षा, इन्जिनियरिङ, मानविकी तथा समाजशास्त्र, कानुन, व्यवस्थापन, विज्ञान तथा प्रविधि लगायतका विभिन्न विषयमा पीएचडी, एमफिल, स्नातकोत्तर र स्नातक कार्यक्रममा गरी करिब १२ हजार विद्यार्थी अध्ययनरत छन्।

त्यस्तै तुङ्कु अब्दुल रहमान युनिभर्सिटी कलेज मलेसियाका प्रथम प्रधानमन्त्रीको नामबाट सन् १९६९ मा स्थापना भई सन् २०१३ मा यूनिभर्सिटी कलेजका रुपमा स्तरोन्नति भएको हो। यस युनिभर्सिटी कलेजका मलेसियामा छ आंगिक क्याम्पस रहेका छन् भने मुख्य क्याम्पस मलेसियाको राजधानी क्वालालम्पुरमा छ।

यस विश्वविद्यालयमा लेखा, वित्त र व्यापार, व्यावहारिक विज्ञान, कम्प्युटर तथा सूचना प्रविधि, वातावरण, इन्जिनियरिङ्, प्रविधि, सामाजिक विज्ञान र मानविकी आदि कार्यक्रमअन्तर्गत पीएचडी, एमफिल, स्नातकोत्तर, स्नातक र डिप्लोमा तहमा करीब २८ हजार विद्यार्थी अध्ययनरत रहेको मध्यपश्चिम विश्वविद्यालयद्वारा जारी प्रेस नोटमा जनाइएको छ। 

प्रकाशित मिति: १६:१० बजे, बिहीबार, माघ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्