५१ पशुपन्छी फार्मलाई अनुदान
म्याग्दी, माघ २७ : भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले चालु आर्थिक वर्ष २०७८/७९ मा तीन वटा कार्यक्रम मार्फत ५१ वटा...
म्याग्दी, माघ २७ : भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले चालु आर्थिक वर्ष २०७८/७९ मा तीन वटा कार्यक्रम मार्फत ५१ वटा पशुपंक्षी फार्मलाई अनुदान उपलब्ध गराउने भएको छ।
साना पशुपंक्षी तथा मत्स्य व्यवसाय फार्म विस्तार तथा स्थापना गर्न ४०, नयाँ मत्स्य पोखरी निर्माणका लागि ७ र माछा मासु तथा डेरी पसल निर्माण सुधारका लागि चार वटा फार्म छनौट भएका हुन्। केन्द्रबाट उनिहरुले रु। ५८ लाख पचास हजार अनुदान पाउने भएका छन्।
केन्द्रका सूचना अधिकारी तथा पशु सेवा प्राविधिक सुभास रेग्मीले छनौट भएका ५१ वटा फार्मका सञ्चालकसँग अनुदान उपलब्ध गराउने सम्झौता गरिसकेको जानकारी दिए। ‘सार्वजनिक सूचना जारी गरेर प्राप्त भएको आवेदनको स्थलगत मुल्याङ्कन गरेर कार्यविधी अनुसार छनौट र सम्झौता गरिएको हो,’ उनले भने, ‘कुल लागतको पचास प्रतिशत अनुदान उपलब्ध गराउने र आधा रकम सञ्चालकले बेहोर्नुपर्ने सम्झौता छ।’
कुल रु. ५२ लाख पचास हजार बजेट बिनियोजन भएको साना पशुपंक्षी फार्म बिस्तार तथा स्थापना कार्यक्रमका लागि १५८ वटा आवेदन परेको थियो। रु. दुई लाख बजेट बिनियोजन भएको नयाँ मत्स्य विकास कार्यक्रम र रु. चार लाख बजेट रहेको माछा मासु तथा डेरी पसल निर्माण सुधार कार्यक्रममा आठ÷आठ वटा आवेदन परेका थिए।
बाख्रा, गाईभैँसी, बङ्गुर, कुखुरापालनका पुराना फार्मको क्षमता विस्तार र नयाँ फार्म स्थापना गर्न रु. एक लाख ३२ हजार २५० का दरले अनुदान पाउने केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले बताए। नयाँ मत्स्य पोखरी निर्माणका लागि रु. ५० हजारका दरले र मासु, डेरी पसलले रु। एक लाखका दरले अनुदान पाउने भएका छन्।
दूध, माछा, अण्डा उत्पादन बढाएर आत्मनिर्भर बनाउने र पशुपालनतर्फ आकर्षण बढाउन गण्डकी प्रदेश सरकारको योजना अनुसार अनुदान दिन लागिएको हो। छनेट भएका सबै फार्मका सञ्चालकलाई अभिमुखीकरण गरिएको थियो। बाँकी कार्यक्रमका लागि पुन सूचना आव्हान गरिएको केन्द्रले जनाएको छ।











